बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं । मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बुधबार (माघ १४) साँझदेखि बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आज बिहीवारदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।

उक्त प्रणालीले बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोसी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।

उक्त प्रणलीले काठमाडौंमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।

रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । वाग्मती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि गरायो ।

आज देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसोदेखि तराई भू–भागका धेरै स्थानमा हुस्सु/कुहिरो रहने, कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको हुनसक्ने जनाइएको छ । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय