३१७ जना विदेशीको ‘फेक रेस्क्यु’ गरेर २ अर्ब ८९ करोड बिमा दाबी

काठमाडौं । हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई उद्दारको नाममा ‘फेक रेस्क्यु’ गरेर अर्बौं रकम बिमा दाबी गर्ने ६ जना पक्राउ परेका छन् ।
उनीहरुले गएको चार वर्षमा नेपालको पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा ३१७ जना पर्यटकको उद्दारको नाममा ‘फेक रेस्क्यु’ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसमा अझै केही ब्यक्ति शंकाको घेरामा छन् । उनीहरु माथी अनुसन्धान हुँदैछ।
उच्च हिमाली क्षेत्रमा घुम्न आएका ३१७ जनालाई ट्रान्सपोर्ट सर्भिस कम्पनीहरूले उद्धार र उपचारको आवरणमा ‘फेक रेस्क्यु’ गरेका हुन् । रेस्क्युमा संलग्न ३ वटा कम्पनीका सञ्चालक र म्यानेजरलाई नेपाल प्रहरीको सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सन् २०२२ यता भएको फेक रेस्क्युमा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, नेपाल चार्टर्ड सर्भिस र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालकहरूको संलग्नता देखिएको सीआईबीका एआईजी डा.मनोज केसीले जानकारी दिए ।
नक्कली उद्धार गरेर कम्पनीहरूले विदेशका बिमा कम्पनीहरूमा २ अर्ब ८९ करोड बिमा दाबी गरेको भेटिएको छ । माउन्टेन रेस्क्यु सर्भिसले १७१ जना, नेपाल चार्टर्ड सर्भिसले ७५ जना र एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिले ७१ जनाको शङ्कास्पद रेस्क्यु गरेको अनुसन्धानबाट थाहा भएको छ ।
उच्च हिमाली क्षेत्रमा घुम्न गएकाहरूलाई सामान्य लेक लाग्दा पनि ‘मिलेमतो’मा हेलिकप्टरमार्फत रेस्क्यु गर्ने र अस्पतालमा भर्ना गरेर पर्यटकले बिमा गरेको कम्पनीमा बिमा रकम दाबी गरेर ठग्ने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।
उद्धार गर्नुअघि उनीहरुले इन्स्याेरेन्स पोलिसीको जानकारी प्राप्त गरेर उच्च हिमाली क्षेत्रमा लेक लाग्दा हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेको अनुसन्धानमा संलग्न डीएसपी दान बहादुर थापाले बताए । उनले भने, ‘रेस्क्यु गर्ने कम्पनीले छुट्टै र अस्पतालले छुट्टै बीमा दाबी गर्ने गरेको देखिन्छ ।’
फेक रेस्क्युमा संलग्न आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया छन् । एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।
सोलुखुम्बुको खुम्बु क्षेत्रबाट एक जना पर्यटकसँग एउटा फ्लाइटको ३१ सय डलर सम्म असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । डीएसपी थापा भन्छन्, ‘हेलिकप्टरमा ल्याएपछि अनिवार्य अस्पताल भर्ना गरेर कागजात बनाउने गरेको देखिन्छ ।’आरोपीहरूलाई पक्राउ गर्नुअघि २ हजारभन्दा धेरै उद्धार भएकाहरूको विवरण विश्लेषण गरिएको एआईजी डा. केसीले जानकारी दिए ।

