पाथीभरामा बिहानै बालेन

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रसिद्ध शक्तिपीठ मुक्कुमलुङ (पाथिभरा) को दर्शनका लागि बिहानै पुगेका छन्। उनी हिजो साँझ नै माथिल्लो फेदीमा बास बस्न पुगेका थिए।

पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पार्टीको चुनावी प्रचारप्रसार र उम्मेदवार भेटघाटमा व्यस्त रहेका शाहले बिहिवार केही समय ताप्लेजुङ् सदरमुकाममा बिताएर पाथिभराको दर्शन र आशीर्वाद लिन उकालो लागेका हुन्। झापा, इलाम र पाँचथरको व्यस्त चुनावी तालिकाका बीच उनी बिहीबार ताप्लेजुङ पुगेका थिए।

मुक्कुमलुङको दर्शनका क्रममा उनले त्यहाँको धार्मिक एवं सांस्कृतिक महत्त्वका बारेमा जानकारी लिनुका साथै स्थानीयसँग संक्षिप्त भेटघाट समेत गरेका थिए। चुनावी दौडधुपबाट केही समय विश्राम लिँदै उनी आध्यात्मिक दर्शनका लागि त्यहाँ पुगेका हुन्।

भ्रमण तालिका अनुसार शाह आज शुक्रबार झापाको दमक झर्नेछन। सकेसम्म राती नै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ। काठमाडौँ फर्केलगत्तै उनी पुनः पार्टीको चुनावी रणनीति र अन्य कार्यक्रमहरूमा व्यस्त हुने बताइएको छ। उनी राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाका प्रभावशाली नेताका रूपमा चुनावी कमान्ड सम्हालिरहेका छन्।

उनी झापा क्षेत्र नम्बर ५ बाट उठेका छन् । जहाँ नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावी मैदानमा उतारेको छ। यसैगरी नेकपा नेता रन्जित तामाङ पनि उम्मेदवार छन् । यहाँ मुख्यतः ओली र बालेन बीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। फागुन २१ पछि बालेन प्रधानमन्त्री भनेर रास्वपाले घोषणा गरेको छ भने ओलीपनी एमालेका तर्फबाट भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय