आम निर्वाचन : ६८ दल र ३,४८४ उम्मेदवार मैदानमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल सहभागी हुने भएका छन् । त्यसमा पनि देशभर उम्मेदवार उठाउने दलको संख्या एक दर्जन मात्रै छ।
निर्वाचन आयोगमा दल दर्ता १३४ भएपनी उम्मेदवारी दिने दल जम्मा ६८ मात्रै भए। नेकपा बहुमत र क्रान्तिकारी सहित ६ दल चुनाव बहिष्कारको पक्षमा छन् । जसमध्ये ४ वटा दल तत्कालीन माओवादी पार्टी फुटेर बनेका हुन् ।
निर्वाचन आयोगका अनुसार ६८ दलहरूबाट मंगलबार २ हजार भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी निवर्तमान शिक्षामन्त्री महावीर पुन सहित एक हजार भन्दा बढी उम्मेदवार स्वतन्त्र छन् । पुनले गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशका १६५ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व हुनेछ।
निर्वाचन आयोगमा प्राप्त विवरण अनुसार राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये २३५ महिला,२ हजार ६४ पुरुष र १ जना अन्य छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले बताए ।

