आज देशभर उम्मेदवारी दर्ता

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन आयोगले क्षेत्रगत रुपमा नै निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दिन सकिने व्यवस्था मिलाइसकेको छ। मनोनयनको समयमा ठुला जुलुस र तडकभडक नगर्न दलहरूलाई आग्रह गरिएपनी कुनै अप्रिय घटना नहोस् भनेर दलहरूलाई उम्मेदवार दर्ताका लागि छुट्टाछुट्टै समय प्रदान समेत गरेको छ।
उम्मेदवार बन्ने तयारीमा रहेका मुख्यदलका शिर्ष नेताहरू हिजै आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन् । यसपटक पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन नलड्ने भएकोले डडेलधुरा गएका छैनन् । त्यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि निर्वाचन लड्ने छैनन् । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई यसपटक पनि उम्मेदवार बन्दैछन् ।
उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजै झापा पुगेका छन् । उनी झापा-५ बाट उम्मेदवार बन्दैछन् । त्यसैगरी प्रचण्ड रुकुम पूर्व पुगेका छन् । जहाज चार्टर गरेर रुकुम गएका उनी यसपटक नेकपाको तर्फबाट रुकुम पूर्वको उम्मेदवार हुन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई दिन अघि नै गोरखा पालुङटार स्थित घरमा पुगेका छन् । उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा-२ का उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि रौतहट पुगिसकेका छन् । उनी नेकपाको तर्फबाट रौतहट-१ का उम्मेदवार हुन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका उम्मेदवार पूर्वमन्त्री जनार्दन शर्मा पनि रुकुम पुगिसकेका छन् । प्रचण्डको साथ छाडेका शर्मा अहिले आँखा चिन्हबाट चुनाव लड्दैछन् । रास्वपा सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवार बन्दैछन। यो उनको अघिल्लो पटक जितेको क्षेत्र हो। मनोनयनका लागि हिजै लामिछाने चितवन पुगेका छन् ।
रास्वपा बरिस्ठ नेता बालेन साह झापा-५ बाट पहिलोपटक उम्मेदवार बन्दैछन। उनी पनि मनोनयनको लागि झापा पुगिसकेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट उम्मेदवार हुन् । उनी पनि झापा पुगिसकेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं-३ का उम्मेदवार हुन् । त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङ्पाङ सुनसरी-१ का उम्मेदवार हुन् ।

