कांग्रेस फुटको असर : देउवा निवासमा बढाइयो सुरक्षा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित हुनेबित्तिकै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री पुर्णबहादुर खड्काको निवासमा सुरक्षाकर्मी थप गरिएको छ।
यसअघि कांग्रेसको सानेपा स्थित केन्द्रीय कार्यालयमा पनि सुरक्षाकर्मी बोलाइएको थियो। सानेपामा त गगन -विश्वप्रकाश शर्माले कब्जा नगरुन भनेर तरुणदल र नेविसंघलाई तीन दिनदेखि तैनाथ गरिराखिएको छ। हिजोदेखी शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवासमा पनि सुरक्षाकर्मीको टोली बढाइएको हो। यद्यपि गगन थापाले वैधानिक रुपमै पार्टी कार्यालय आफुहरुको हुने भनिसकेका छन् ।

कांग्रेसको केन्द्रीय समितिले बुधबार महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेपछिको उत्पन्न अवस्था र विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा देउवा-खड्का विरुद्ध लागेको नारालाई ध्यानमा राखेर सुरक्षाकर्मीको टोली बढाइएको बुझिएको छ। भृकुटीमण्डपमा नेताकार्यकर्ताले आक्रोशित हुँदै हिजो दिनभर देउवाविरुद्ध नारावाजी गरेका थिए।

कुनै अप्रिय घटना नहोस् भनेर देउवाको अस्थायी निवास महाराजगञ्ज र खड्काको निवासमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली बढाइएको काठमाडौं प्रहरीले जनाएको छ।

कांग्रेसका युवा नेताहरू गगन थापा,विश्वप्रकाश शर्मा,प्रदीप पौडेल,गुरुराज घिमिरे,देवराज चालिसे लगायतको नेतृत्वमा भृकुटीमण्डपमा कांग्रेसको विशेष दास्रो महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व निर्वाचित गरेको छ। अब गगन थापा नेतृत्व र देउवा नेतृत्वको दुई कांग्रेस अस्तित्वमा आएका छन् । निर्वाचन आयोगमा दुबै पक्षले आ-आफ्ना दाबी पेश गरिसकेका छन् ।

विशेष महाधिवेशन पार्टी अनुशासनबाहिर रहेको र त्यहाँबाट नेतृत्व चुनीन नसक्ने भन्दै बुधबार गगन थापा,विश्वप्रकाश शर्मा र फमुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको पत्र निर्वाचन आयोग पुगेको छ। अर्काेतिर विशेष महाधिवेशनमा बहुमत सदस्यले नयाँ नेतृत्व चयन गर्दै गरेको र महाधिवेशन आधिकारिक रहेको अर्को पत्र पनि आयोगमा पुगेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय