कांग्रेसमा सहमतिको खोजी जारी


काठमाडौं। नेपाली कांग्रेसलाई कसरी अगाडि बढाउने भनेर नयाँ सभापति चुन्न भृकुटीमण्डपमा विशेष महाधिवेशन अन्तर्गत चुनावी प्रक्रिया र वर्तमान सभापति शेरबहादुर देउवा निवसमा अझै सहमतिको खोजी एकैपटक हुँदैछ।

सहमतिकै लागी विशेष महाधिवेशन स्थलमा हिजो राती हुने भनिएको निर्वाचन प्रक्रिया अहिलेसम्म स्थगित गरिएको थियो। उता पार्टी केन्द्रीय समिति बैठक पनि सहमति खोजी गरेपछि मात्रै बस्ने भनेर हिजै स्थगित गरिएको थियो। तर,विश्लेषकहरुले अब  कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको तर्क गरेका छन् । भृकुटीमण्डपको हलबाट नयाँ सभापति चुन्ने संभावना पनि बढेको छ। यसो भएमा निर्वाचनको सम्मुखमा कांग्रेस दुई टुक्रा हुनेछ।

संस्थापन पक्षको तीव्र असहमतिका बाबजुद सुरु भएको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका समसामयिक राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ। यो संगै अब शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति समेत विघटन भएर निर्वाचन प्रक्रिया नै अघि बढिसकेकोले नयाँ सभापति चुनिने अवस्थालाई नकार्न मिल्दैन।

पुस २७ देखि सुरु भएको विशेष महाधिवेशनमा मंगलबार भृकुटीमण्डपको बन्दसत्र हलबाट प्रतिवेदनहरू पारित भएका हुन्। दुवै प्रस्ताव पारित भएसँगै विशेष महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ। नयाँ कार्यसमिति चयनका लागि हिजै साँझदेखि मनोनयनसमेत सुरु भएको छ। यद्यपि सभापति र महामन्त्रीमा कसैले पनि उम्मेदवारी दिइसकेका चाहिँ छैनन् । दुई जनाले सहमहामन्त्रीको उम्मेदवारी दर्ता गराएका छन् ।

बारम्बार छलफलमा जुटेपनी दुई पक्षबीच सहमति नहुँदा कांग्रेस औपचारिक रूपमै फुट सँघारमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवालाई जसरी पनि सहमतिमा ल्याउन विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम सार्वजनिक गरे पनि सारिरहेका छन्। उनीहरुको माग मध्य सभापतिबाट देउवा हट्नुपर्ने बाहेक अरु लगभग मिलेको छ। निर्वाचनको टिकटमा शेरबहादुर देउवाको नभै पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने कुरामा सहमति नजिक छन् भने विशेष महाधिवेशनमा उठेका बिषयलाई केन्द्रीय समितिले स्वामित्व लिने कुरापनी सहमति जुटेको छ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने सभापति देउवाको राजनीतिक संन्यास अडान कायम राखेका छन्। यद्यपि देउवाको ‘निष्क्रिय’ बस्ने सम्मको कुरामा झन्डै सहमति नजिक छ। तर, देउवालाई केही निकटहरुले अझै पनि नझुक्न उक्साइरहेको विशेष पक्षधरको बुझाइ छ। विभिन्न चरणमा भएका द्वीपक्षीय र समूहका आन्तरिक छलफलबाट मंगलबार दिनभर ठोस निष्कर्ष निस्कन नसक्दा विशेष महाधिवेशनको निष्कर्ष र एकताबद्ध समापनको साझा उपाय निस्कन नसकेको हो । एकातिर कांग्रेस विशेष महाधिवेशन चल्दैगर्दा अर्कोतर्फ पार्टी एकता जोगाउन छलफल जारी छ। अहिले केही घन्टामा सहमति हुने अपेक्षा धेरैले गरेका छन् ।

कांग्रेसका केही नेताहरू मिलनबिन्दु खोजी गरेर पार्टी विभाजनबाट जोगाउने प्रयासमा छन्। विशेष महाधिवेशन पक्षधरले सभापति देउवाले राजीनामा दिँदै पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने बटमलाइन राखेकाले कुरा अड्केको देखिन्छ। उता विशेषको हलबाट गगन थापाले अब सहमति हल बाहिर वा नेताका घरमा होइन बन्दसत्रको हलबाटै हुनुपर्छ भनिरहेका छन् । यसको मत्लब अझैपनी देउवा महाधिवेशन स्थल आएर सम्बोधन गरे सहमति हुनसक्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय