कांग्रेस विशेष महाधिवेशन : गगन-विश्वलाई सफलता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशन स्थलमा कांग्रेस नेताकार्यकर्ता खचाखच भरिएका छन् ।
महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिरुवामा पानी हालेर संयुक्त रुपमा गरेका थिए। उद्घाटन सत्रको सभापतित्व कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले गरेका थिए। महाधिवेशनमा नेताकार्यकर्ताको उपस्थिति भयंकर देखिएको छ। महाधिवेशन भोलिसम्म चल्नेछ।
सभापति शेरबहादुर देउवा,कार्यबहाक सभापति पूर्णबहादुर खड्का लगायत संस्थापन पक्षले मान्यता नै नदिनेगरी घेराबन्दी गरेको विशेष महाधिवेशनमा डा.शेखर कोइराला समेत उपस्थित भएनन् । यद्यपि कोइराला समूहका नेताहरू चन्द्र भण्डारी,गुरुराज घिमिरे,सुनिल शर्मा, कोशीका पूर्व मुख्यमन्त्री केदार कार्की, देवराज चालिसे,मनोजमणी आचार्य लगायत नेताहरु भने कार्यक्रममा आयोजककै रुपमा देखिए।
पूर्व अर्थमन्त्री महेश आचार्य,पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व सहमहामन्त्री अर्जुनरसिंह केसी, उद्योगपति विनोद चौधरी लगायत पनि महाधिवेशनमा उपस्थित छन् । त्यसैगरी देउवा पक्षीय केन्द्रीय सदस्य भनेर चिनिएका उदय शमशेर राणा,बहादुर सिंह लामा,चिनकाजी श्रेष्ठ पनि महाधिवेशनमै सहभागी छन् ।

