अन्नपूर्ण क्षेत्रमा संरक्षण दिवस मनाइयो

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं-५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं-५ रिभानको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा विविध कार्यक्रमको आयोजना गरी संरक्षण दिवस मनाइएको हो । नेपाल सरकारले २०४९ साल साउन ५ गते राज पत्रमा संरक्षण दिवस मनाउने उल्लेख गरेसँगै एनटीएनसीले सहमति लिएर विविध कार्यक्रम आयोजना गरी संरक्षण दिवस मनाउँदै आएको छ ।
दिवसको अवसरमा माछापुच्छ्रे गाउँ पालिका मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता, पालिकामा रहेका संरक्षण क्षेत्र व्यवस्थापन समिति स्तरीय सामूहिक नृत्य, विद्यालय स्तरीय चित्रकला, कृषि प्रदर्शन गरिएको थियो ।मावि स्तरीय हाजिर जवाफ प्रतियोगितामा निष्पक्ष मावि रिभान प्रथम, उदय मावि धम्पुस द्वितीय, गौरी शङ्कर मनिलाल मावि सैतिघट्टा तृतीय र शुक्ला गण्डकी मावि घाचोक सान्त्वना भएका थिए ।
सामूहिक नृत्य प्रतियोगिता तर्फ संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोक प्रथम, संरक्षण क्षेत्र व्यवस्थापन समिति सार्दीखोला द्वितीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुस तृतीय, संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान सान्त्वना हुँदा संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ घलेलले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।
विद्यालय स्तरीय चित्रकला प्रतियोगिता तर्फ निष्पक्ष माविका सनोज विक प्रथम, उदय माविका खगेन रसाइली द्वितीय, महेन्द्र माविका आदित्य अधिकारी तृतीय र अन्नपूर्ण आधारभूत विद्यालयका ईशान तामाङ सान्त्वना भएका थिए ।
कृषि प्रदर्शनीमा मसला जन्य तर्फ माछापुच्छ्रे गाउँ पालिका वडा नं ५ का विष्णु क्षेत्री प्रथम, वडा नं ५ कै सिता लामिछाने द्वितीय र वडा नं ७ का प्रेम सुनार तृतीय भए । फलफूल तर्फ वडा नं ३ का देवीलाल शर्मा प्रथम, वडा नं ५ का खिमलाल पौडेल द्वितीय, वडा नं ७ का राम बहादुर भण्डारी तृतीय र वडा नं १ की मनीषा गुरुङ सान्त्वना भए ।
त्यसै गरी तरकारी तर्फ वडा नं-४ का अमृत अधिकारी प्रथम, वडा नं- ३ का जगदीश लम्साल द्वितीय र वडा नं-३ कै तुलसी आचार्य तृतीय भए भने कृषि प्रदर्शनी तर्फ प्रेम सुनार र रिभान कृषि सहकारी संस्था लिमिटेडले विशेष पुरस्कार प्राप्त गरे । कार्यक्रममा विजयीलाई नगद र सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै संरक्षणको विकासमा खेलेको योगदानको कदर स्वरुप विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा संरक्षण किसान सम्मानबाट रिभानकी राधिका ढुङ्गाना, हरियाली कार्यक्रममा सहयोग पुर्याएका रिभान हुम्दीका देवीलाल लामिछाने र साबिक रिभान वन व्यवस्थापन उप समिति रहेका थिए । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मीन बहादुर गुरुङले संरक्षण क्षेत्रबाट आयआर्जन र राजस्व वृद्धि गर्न एक भएर लाग्नुपर्ने बताए ।

