एमाले महाधिवेशन : मतदान सकियो, १० बजे घोषणा !

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अब केही मिनेटमा प्रतिनिधिले मतदान गरिसक्ने छन्।

अहिले बिहान ६ बजेसम्मको तथ्यांक अनुसार अब ४५ जना प्रतिनिधि मात्रै मतदान गर्न बाँकी छन् । मतदान स्थलमा रातभर जाग्राम बसेर एमाले प्रतिनिधिले मतदान गरेका थिए। हिजो बिहानदेखि सुरु भएको मतदान झन्डै २२ घन्टा चल्यो। कुनै प्रतिनिधिले ९ मिनेटमा मतदान गरेर सकेको प्रतिक्रिया दिएपनी धेरैले ४५ मिनेट देखि २ घन्टा सम्म समय लगाएका थिए।स्वयं अध्यक्ष उम्मेदवार ईश्वर पोखरेललाई समेत करिब १ घण्टा समय लागेको थियो।

एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२६३ मतदाता मध्ये २२५३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छन् । त्यहाँ उपस्थित भएर पनि २ जनाको कार्ड हराएको र १ जना मतदानस्थलमा प्रवेश गर्ने अन्तिम समयसम्म पनि त्यहाँ नपुगेर मत दिन पाएनन् । त्यसैगरी अन्तिम समयसम्म मतदान गर्न ७ जना भने लाइन नबसेकोे पाइएको छ । बिहान ५ बजेसम्म लाइन बस्नेले मत दिन पाउने प्रावधान थियो।

निर्वाचन आयोगका अनुसार निर्धारित समयभित्र मतदानस्थलमा प्रवेश गरेका प्रतिनिधिमध्ये बिहान ५ बजे करिब १ सय ४० जना लाइनमा थिए। उनीहरू मध्यपनी अब केही मात्रै बाँकी छन् । मतदान स्थलमा ८० वटा मेसिन छन् । एकपटकमा ८० जनाले मत दिन सक्ने भएकोले अब अन्तिम मतदाता मात्रै देखिन्छन् ।

आयोगका अनुसार बिहान १० बजे अगाडि नै परिणाम सार्वजनिक हुनेछ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे समापन कार्यक्रम आयोजना गरिने सूचना समेत जारी गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय