एमाले महाधिवेशन आजदेखी

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशन उद्घाटन बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुनेछ ।

पूर्वप्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । नेपाली कांग्रेस,नेपाली कम्युनिस्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी लगायत पुराना १६ दलका नेताले शुभकामना दिनेछन् । तर,नयाँ खुलेका उज्यालो नेपाल,श्रम संस्कृति,प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत दललाई निम्तो गरिएको छैन। राप्रपा र मधेसवादी दललाई पनि बोलाइएको छ।

महाधिवेशन उद्घाटनको समयमा देशभरबाट ३ लाख नेताकार्यकर्ताको उपस्थिति रहने जनपरिचालन समितिका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले बताए । उनले नेपालको सांस्कृतिक विविधता झल्काउन २ सय भन्दा बढी जातजातिको कला–संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन हुने र १० हजार स्वयंसेवक परिचालन हुने पनि  जानकारी दिए ।

महाधिवेशन उद्घाटन स्थलको मञ्च दायाँबायाँ ३०-३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ भने तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ। देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ । राष्ट्रिय एकताको प्रतीक झल्काउने साङ्गीतिक प्रस्तुति कलाकारहरूले मञ्चमै प्रस्तुत गर्ने तयारी छ।

महाधिवेशन उद्घाटनमा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पाला बालेर उद्घाटन गर्ने व्यवस्था गरिएको छ। महाधिवेशन ११ औँ पटक हुन लागेकाले ११ वटा पार्टी झण्डा राखिने, तीमध्ये १० वटा झण्डा शुरुमा नै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने तयारी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय