१ करोड ९० लाख मतदाता

काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न १ करोड ९० लाख मतदाताको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
नेपालको ३ करोड हाराहारी जनसंख्या मध्य निर्वाचनका लागि २०८२ फागुन २० सम्मा १८ बर्ष उमेर पुग्ने १ करोड ९० लाखको प्रारम्भिक मतदाता नामावली सार्वजनिक भएको हो। आयोगले निर्वाचन कार्यतालिका अनुसार यहिँ मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गराएका ८ लाख हाराहारी मतदाताको नामसमेत समेटेर १ करोड ९० लाख भन्दा बढी मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको जनाएको छ । यसमा २६ मंसिर सम्म नाम,ठेगाना र मतदान स्थल परिवर्तन गर्न समय पनि दिएको छ।
प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै आयोगले मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगको निर्णय अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नेपाली नागरिकलाई मतदाता नामावली अद्यावधिक गर्न पाइने व्यवस्था गरिएको हो । आयोगले मतदाता नामावली अद्यावधिक अर्थात दाबी विरोध कार्यक्रमअनुसार आयोगको वेबसाइटमा रहेको विवरण प्रकाशन भएपछि मंसिर २६ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्न सकिने भनेको छ।
जसमा नाम, थर, जन्ममिति, ठेगाना लगायत त्रुटि सच्याउन निवेदन दिन सक्ने, कसैले झुटा विवरण दिएर नाम दर्ता गराएको भए विरोधमा उजुरी दिन सक्ने, नाम दुई वा बढी स्थानमा दोहोरिएको भए एक स्थानमा मात्र राख्न माग गर्न सक्ने, मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन सक्ने आयोगले जनाएको छ ।
दाबी–विरोधबाट प्राप्त निवेदनको अन्तिम छानबिनपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ । यस्तै आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको र मतदाताले अब आफूलाई पायक पर्ने मतदान स्थल छनोट गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । त्यसका लागि अनलाइन प्रणालीबाट वा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने छ ।
आयोगले मतदाता नामावलीलाई पूर्ण, त्रुटिरहित र शुद्ध बनाउने उद्देश्यले आम मतदाता तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह पनि गरेको छ । आयोगले समयमै नामावली अद्यावधिक गर्न सके फागुन २१ को निर्वाचन व्यवस्थित र विश्वसनीय हुने विश्वास व्यक्त गरेको छ ।

