राजनीतिमा राजेश !

नेपाली चलचित्रका महानायक राजेश हमालले राजनीतिमा आउने सम्भावना रहेको बताएका छन् । कुन पार्टीमा कसरी जाने भन्ने टुंगो नलागे पनि राजनीति गर्ने योजना रहेको उनको भनाइले पुष्टि गर्दछ।
राजेश हमाललाई नयाँ पुराना सबैजसो राजनीतिक दलहरूबाट प्रस्ताव आएको र केही चरण छलफल पनि गरिएको बुझिएको छ।राजेशले पनि यो कुरामा सत्यता भएको बताएका छन् । उनले कसले प्रस्ताव गर्यो र कुन कुन पार्टीसँग छलफल गरियो भन्ने चाहिँ खुलाउन खोजेका छैनन् । उनले गत आम निर्वाचन-२०७९ मा पनि उमेदवारका निम्ति केही पार्टीबाट प्रस्ताव आए पनि त्यतिबेला नउठ्ने निर्णय गरेको स्वीकार गरे। त्यससमयमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाली कांग्रेस र राप्रपा समेतले प्रस्ताव गरेको चर्चा थियो।
राजनीतिमा कहिले जाने ? कुन दलमा जाने ? कुन पदमा जाने भन्ने तयारीमा भने आफू नरहेको उनले स्पष्ट पारेका छन्। तर, उनले यो पनि भनेका छन् कि -‘फेरि, सोच छँदै छैन पनि भन्दिनँ । राष्ट्रमा भइरहेका राजनीतिक गतिविधिप्रति अवश्य चासो राख्छु । राजनीतिक माहोललाई नजिकबाट बुझ्ने प्रयास गरिरहेको छु।’ उनले अझै थप प्रष्ट्याएका छन्, ‘आउने चुनावसम्ममा राष्ट्रमा केही मूर्त परिवर्तन हुनुपर्छ, नत्र जनताले नयाँ राजनीतिक शक्तिहरूप्रति देखाएको आशा र भरोसामा निराशा छाउन सक्छ ।’ उनको यो भनाइले राजेश पुराना दलप्रती भन्दा नयाँ र वैकल्पिक शक्ति प्रती विस्वस्त छन् । उनको राजनीतिक यात्रा नयाँ दलबाट नै हुने देखिन्छ।
राजेशले लोकतन्त्रको विकल्प नरहेको पनि बताएका छन् । यसले उनी राजावादी लाइनमा छैनन् भन्ने प्रष्ट देखिन्छ र राप्रपा वा त्यस्तै शक्तिमा जादैनन् भन्ने देखिन्छ। पटकपटक आफू लोकतान्त्रिक भएको उनले सुनाउने गरेका छन् । ‘लोकतन्त्रको विकल्प छैन भन्नेमा एकदमै ठूलो विश्वास राख्छु । म आफूलाई लिबरल डेमोर्क्र्याट मान्छु । सिर्जनशील व्यक्ति हुँ,’ राजेशले आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’मा भनेका छन्, ‘व्यक्तिको स्वतन्त्रता एवं अभिव्यक्ति र सिर्जनाको स्वतन्त्रताको हिमायती हुँ ।’
यद्यपि नयाँ शक्ति बनाएर आउने कि पुराना अनुहार भएपनी नयाँ बिचार बोक्नेहरुमा जाने भन्नेमा आफू प्रस्ट भइनसकेको राजेशले बताएका छन् । ‘एउटा भनाइ छ, ‘अ विक इज अ लड हो) ।’ अहिले ताली पाइरहेकाहरूले गाली पाउन र गाली खाइरहेकाहरूले ताली टाइम इन पोलिटिक्स (राजनीतिमा माहोल परिवर्तनका लागि एक साता पर्याप्त समय) पाउन धेरै समय नलाग्न सक्छ,’ राजेशले पुस्तकमा भनेका छन्, ‘त्यसैले मैले निर्णय गरिसकेको छैन भन्नुको कारण के हो भने अहिलेको परिवर्तित माहोलले पुराना पार्टीहरूलाई पनि परिवर्तित घच्घच्याएको छ । ए, वास्तविकता त यस्तो पो रहेछ भनेर ऐना देखाउने काम पनि गरेको छ ।’
दलभित्रका युवामा परिवर्तन आइरहेको छ भन्ने पनि देखिइसकेको उनले उल्लेख गरेका छन् । पुराना र नयाँ पार्टी यसरी नै चलिरहन्छन् भन्ने निश्चित नरहेको उनले बताएका छन् ।अब आदर्श र सिद्धान्त मात्र पस्केर समृद्धि ल्याउँछु भन्ने भाषण गरेर नहुने उनको भनाइ छ । जनताले मूर्त रूपमा राजनीतिमार्फत सामाजिक अवस्था परिवर्तन भएको हेर्न चाहिरहेको उनले बताएका छन् ।
पछिल्लो राजनीतिक दल र स्वतन्त्र उमेदवारबारे पनि राजेशले खुलेर बोलेका छन् । अहिले उदाएका लोकप्रिय पार्टी र स्वतन्त्र उमेदवार यहाँसम्म आउनुमा लोकतान्त्रिक प्रणालीको भूमिका रहेको उनले टिप्पणी गरेका छन् ।’उहाँहरू (नयाँ दल र स्वतन्त्र उमेदवार) मतदानको लाइनमा बसेर मत दिएको भरमा यति उल्लेखनीय सफलता प्राप्त गर्नुभयो । यो लोकतन्त्रकै देन हो । कुनै राजनीतिक वाद र सिद्धान्तको कुरा नगरी पनि यति लोकप्रिय भइने रहेछ भन्ने देखियो,’उनले भनेका छन्, ‘विभिन्न दर्शनमा आधारित रहेर तिनको आदर्शमा राजनीति चलिरहेको थियो । तर, अहिले भ्रष्टाचार रोक्छौँ, राष्ट्रमा रोजगारी सिर्जना गर्छौं, शिक्षा र स्वास्थ्य सेवा पुर्याउँछौँ, छिटो सेवा दिन्छौँ भनेर जनताको मन जितेको देखियो । अहिलेको परिवर्तित माहोल भनेकै यही हो ।’
आउने चुनावसम्ममा नेपाली राजनीतिक माहोल अझै परिवर्तन हुन सक्ने उनले बताएका छन् । यो मूल्य–मान्यताको अवहेलना हुने परिस्थिति बन्न सक्ने उनको धारणा छ । राजनीतिक महोल झन् गन्जागोल र गडबडीतिर जान पनि सक्ने उनले आशंका व्यक्त गरेका छन् । तर, लोकतन्त्रप्रति नेपाली समुदाय सचेत रहेको उनले बताएका छन् । आफ्नो लोकतान्त्रिक अभ्यास र अधिकार संरक्षण गर्न अग्रसर हुने उनको विश्वास छ ।
दुई पुस्ता र उमेरको विषयले पनि यसमा भूमिका खेल्ने राजेशले बताएका छन् । पछिल्लो समय उदाएका पार्टीले युवाकै आकांक्षालाई बोकेको उनले उल्लेख गरेका छन् । आउँदो चुनावमा आफू अझ कसरी शक्तिशाली हुने भन्ने मात्र ‘मिसन’ नभएर जनअपेक्षाअनुसार समाज र राष्ट्रको हितमा के कस्ता कदम चाल्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

