पढ्ने उमेरले होइन इच्छाशक्तिले भनेर प्रमाणित गर्ने निर्मला

खोटाङ तुवाचुङ-४ सल्लेमा जन्मेर हाल भक्तपुर सानोठिमी बस्ने निर्मला पौडेल बरालले उमेरले ७२ वर्ष लागेपछि प्लस २ (१२ कक्षा) पास गरेकी छन् । २०१० सालमा जन्मिएकी बराल सामाजिक अभियन्ता हुन् । उनको रूचि लेखन साहित्यमा पनि छ ।

तत्कालीन समयमा नियमित अध्ययन गरेर एसएलसी उतिर्ण गरेपनि त्यतिबेलाको आइए (हालको ११ र १२कक्षा अर्थात +२)  सम्म अध्ययन गर्दागर्दै २०२८ सालमा बिहे भएपछि उनको पढाई रोकिएको थियो। त्यसपछि घरायसी काम,परिवारको दायित्व र विविध कारणले अध्ययन गर्न नपाएकी बराल सामाजिक काममा भने सधैं अग्रसर भइरहिन । अहिले भने उनले पुनः अध्ययनलाई निरन्तरता दिदै २०८२ सालको +२ नतिजामा आफ्नो नाम ‘+२ उतिर्ण’ भनेर लेखाउन सफल भइन् ।

निर्मलाले बिराटनगरलाई कर्मथलो मानेर झन्डै दुई दशक बिताइन र हाल भक्तपुरमा स्थायी बसोबास गरेर बसेकी छन् । बिहे भएर बिराटनगर पुगेपछि आफ्नो अध्ययनलाई पूर्णविराम लगाएर घर गृहस्तीमा ब्यस्त निर्मलाले तिन छोराछोरी हुर्काइन् । छोराछोरी र परिवारको दायित्व पूरा गर्दै बचेको समयमा सामाजिक र राजनैतिक जिम्मेवारी समेत पूरा गरेको उनको बेग्लै कथा पनि छ । २०४६ सालमा बहुदल आएपछि निर्मलाले  अरु २ जना साथीहरु रेणुका र जमुनासँग मिलेर सिलाई स्कुल चलाइन्। जहाँबाट  धेरैलाई सिलाई कटाई सिकाएर सक्षम र उद्यमशील महिला बनाएर धेरैले आफ्नो खुट्टामा उभिएर गरिगरिखान सक्ने बनाइन् । त्यसैगरी दुर्व्यसनीमा फसेकालाई उद्दार र दुर्व्यसनबाट मुक्त गरेर घर समाज सुधारमा पनि निर्मलाले योगदान दिइन् ।

लेखनमा निर्मलाले स्कुले जीवनदेखि नै रुचि राखेपनी समय र परिस्थिति अनुकुल नहुदा उनका मनभित्रका साहित्यिक भावहरु यत्तिकै गुम्सिन्थे। उनले स्कूले जीवनमा धेरै कथा कविता लेखेर उपहार पाएपनि लुकाएर राख्नुपर्ने समेत हुन्थ्यो। सायद त्यै साहित्य प्रतिको मोहको झिल्को बाकी नै रहेर होला ७२ बर्षको उमेरमा पनि उनका रचनाहरु फूल जस्तै फक्रीरहेका छन् । उनको लेखन रोकिएको छैन। ७२ वर्षिय निर्मला पौडेल वरालले ७ वटा बाल साहित्य र लघुकथा संग्रह प्रकाशन गरिसकेकी छन् । लेखनका बाबजुत आफ्नो अपुरो अध्ययन पूरा गर्ने उनको अठोट समेत अहिले पूरा भएको छ। यसमा उनले नातिनातिना पुस्तासंगै भर्ना भएर कक्षा १२ को परीक्षा उतिर्ण गर्दा सबैको लागि प्रेरणा समेत बनेकी छन् । त्यसैले उनी भन्छिन् -‘पढ्नलाई उमेर होइन इच्छाशक्ति चाहिने रहेछ। जुन कुरा मैले गरेर देखाए। यस्तै दृढ़ इच्छाशक्ति सबैले राखौं ।’

खोटाङको सल्लेमा जन्म,बसाइँसराइ गरि झापा, बिहे मोरङको बिराटनगर र अहिले भक्तपुरको बसोबास सम्म आइपुग्दा निर्मलाको जीवनमा धेरै उतारचढाव आए। यसबीचमा उनको औपचारिक अध्ययन रोकिए पनि साहित्य लेखनको कलमले भने निरन्तरता पाइरह्यो। फुटकर कविता र केही साहित्यिक रचना उनले निरन्तर प्रकाशित गरिरहिन् । विनिता प्रकाशनमा आजीवन सदस्य,नेपाल बाल साहित्यमा आजीवन सदस्य,गोधुली साहित्य प्रतिष्ठान आजीवन सदस्य र विश्व नेपाली साहित्यको आजीवन सदस्य रहेकी निर्मला बरालले वनिता सेवा सम्मान,गोधुली बाल साहित्य सम्मान, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बाल साहित्य सम्मान लगायत थुप्रै सम्मान र कदरपत्रबाट सम्मानित भएकी छन् । उनि हाम्रो लघुकथा केन्द्र नेपालमा आजीवन सदस्य र कमिटीमा सदस्य समेत हुन् ।
निर्मलालाई साहित्य क्षेत्रमा कहिले देखि लाग्नु भयो ? भन्ने प्रश्न गर्दा उनको जवाफ थियो-‘म विद्यालयकाल देखि नै कथा, कविता लेखेर पुरस्कार पनि पाएको थिएँ । तर २०५८ सालदेखि भने  निरन्तर लेखन र साहित्यमा छु।’
निर्मलाका अनुसार उनको पहिलो साहित्यिक रचना “हरि र मोतीको मित्रता” बाल उपन्यास हो। २०७१ सालमा अन्नपूर्ण पोष्टको शनिबार प्रकाशीत हुने अङ्कुरमा बाल कथा “को ठूलो को सानो” भनेर छापिएको थियो।
त्यसपछि उनले लघुकथा लेखनमा पनि मनदिएर लेख्न थालेको बताइन्  । २०७७ देखि उनका लघुकथा प्रकाशित भएका हुन् ।
पहिलो लघुकथा भने “सेतो कपाल” हो। उनको लघुकथा ‘बिर्खेको डर’ हिमालय टाइम्सको लघुकथा पाठशाला पेजमा प्रकाशित भएको थियो।

उनका प्रकाशित कृतिहरुमा बाल उपन्यास, ‘हरि र मोतीको मित्रता’,’चङ्गाको उडान’ किशोर साहित्य र बाल कथा समेटिएका छन्। त्यसैगरी ‘जंगलको कथा’ बाल चित्रकला कथा र लघुकथा संग्रह ‘निर्झरी’ पुस्तक पनि उनका रचना हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय