मेमोरी गजुरेल भन्छिन् : आमासँग असुरक्षित भएँ

काठमाडौं । कलाकार मनोज गजुरेलकी छोरी मेमोरी गजुरेलले जन्मदिने आमाबाटै असुरक्षित भएको भन्दै आफ्नो पारिवारिक विषयमा पहिलोपटक सार्वजनिकरुपमा मुख खोलेकी छन् ।
हाल देश बाहिर रहेकी मेमोरीले एक अडियो रेकर्डमार्फत आफ्नो भनाइ बाहिर ल्याएकी हुन् । बुबा र आमाको डिभोर्स पश्चात् आमा मिना ढकालसँग बसेकी मेमोरीले त्यो समयमा आफुलाई धेरै गाह्रो भएको समेत खुलाएकी छन् । बुबा मनोज र आमा मिनाको सम्बन्ध बिच्छेद हुँदा मेमोरी १३ बर्षकी भएकोले उनलाई आमासँग बस्न भनिएको थियो। दाजु भने बुबासँग बसेका थिए। पछि मेमोरी पनि आमालाई छाडेर बुबासँगै बसेकी थिइन् ।
हेरौं मेमोरीको बयान उनकै शब्दमा :
म, मेमोरी । अहिले म नेपाल बाहिर पढ्दै छु । तर हरेक दोस्रो हप्ता म मेरो बुवा, मेरो दाजु र मेरो परिवारसम्बन्धी अर्को नयाँ काण्ड आइपुगेको सुन्न पाउँछु । फेसबुक र युट्युबमा मात्र देख्दा हजुरहरूलाई फिल्म कि त सिरियल हेरेजस्तै लाग्छ होला । तर हजुरहरूले कमेन्टमा पूरा कथा नबुझी, नसुनी जे–जे टिप्पणी दिनुहुन्छ, त्यसले कम्तिमा मेरो परिवारभित्रका एक दर्जन जनाको लाइफ र मानसिकतासँग खेलिरहेको हुन्छ ।
म १३ वर्षको हुँदाखेरि आमा–बुवाको डिभोर्स भयो । नाबालिग छोरीलाई आमासँगै बस्न पठाउने डिसिजन भएछ । तर मलाई कसैले पनि सोधेन कि म कोसँग बस्न चाहन्थेँ । सोधिहालेको भए पनि म भन्थेँ होला, म मेरो दादासँगै, म हुर्किएको घरमा, मेरो दिदीहरूको नजिक भएको ठाउँमा बस्छु । आमासँग बसे पनि बाबा–दादा भेट्न पाउने, घर फर्कन पाउने, छोरी र पूर्वपत्नीको भागको अंश आमाको जिम्मा लगाएपछि शान्तिपूर्ण रूपमा डिभोर्स हुने कुरा भएको थियो ।
तर आमासँग बसेको एक महिना नहुँदै उहाँले मलाई भन्न थाल्नुभयो, ‘तैंले तेरो बाउ, तेरो दाइ, तेरो ठूली आमाहरूको छोरी भेट्न पाउँदिनस् ।’ शब्दहरू एक्ज्याक्ट्ली यिनै थिए । पहिला जति शारीरिक, शाब्दिक र मानसिक दुर्व्यवहार म, मेरो बाबा र मेरो दादाले सँगै भोग्थ्यौँ, त्यति नै पीडाको भोगी ती आठ महिनाभरि म एक्लै हुन पुगेँ ।
गाह्रै त भयो होला नि, किनकि १४ वर्षको उमेरमा म दशैं मनाउन मेरो बाबाको घर फर्किएँ । त्यसपछि म कहिल्यै पनि मीनाजीसँग फर्किनँ । उहाँले एक हप्ता जति फोनमा धम्क्याउन, फकाउन प्रयास गर्नुभयो । तर उहाँलाई पनि १४ वर्षको छोरी नपाली, उसको अंश फिर्ता नगरी, आफ्नो मनमर्जी गरी बस्न सजिलो भन्ने बुझ्नुभयो होला । किनकि केही इस्यु नबनाइकन उहाँले मलाई खासै अप्रोच गर्नुभएन ।
तर कथा त्यतिमै टुङ्गिएन, किनकि हामीले सबैले उहाँलाई युट्युब, फेसबुक र टिकटकमा टन्नै देखेका छौँ । त्यसपछि उहाँले कुनै बेला सडकमा पुर्याउन खोज्नुभएको आफ्नै छोरालाई आफूप्रति ल्याउन खोज्नुभयो । २७ वर्षको छोराले सँगै बस्ने इच्छा नहुँदा त्यहीँ नै कुरा टुङ्गिएको भए सबैको भलो हुन्थ्यो भन्ने मेरो सोचाई थियो, तर अझै पनि दादाको आडमा एकदमै ‘म्यानुपुलेसन’ चल्दैछ सोसल मिडियामा ।
जो–जो एकापट्टिको कुरा सुनेर मनोज गजुरेल र परिवारलाई भएभरको गाली–गलौज गर्दै हुनुहुन्छ, थाहा नभएर होला, तर हजुरहरू पनि झनै एन्टी–फेमिनिस्ट नै हुँदै हुनुहुन्छ । गाली खाइरहेको म महिला, मेरो फुपु, हजुरआमा, मनोजजीको जीवनसाथी, मेरी ठूली आमाहरू, सबै महिला नै हुन् । हामीले मुख अगाडिबाट सुरु भएको गाली, हेपाइ, मुख छाड्ने, अब सम्बन्ध सकिसकेपछि पनि मिडियामा पुगेको हेपाइ कुनै लेभलमा पनि महिलावाद होइन ।
हजुरहरू अर्को झुट बोकेर आउनुहोस्, मसँग हरेकको जवाफ छ, किनकि मभन्दा ठूलो महिलावादी मैले चिनेको पनि छैन र साथै मेरो परिवारमा मैले हेरेको र भोगेको कुरा मैले राम्ररी बुझेको छु । सत्यको खोजीमा हाम्रो जीवन लथालिङ्ग पार्न खोजेको भन्ने कुरा आयो भने यति बुझ्नुस् कि मेरो दाजुको स्वास्थ्यको आडमा केवल झुट र म्यानुपुलेसन हुँदैछ । आमासँग असुरक्षित फिल भएर भागेको म, घर फर्किँदा उहाँकै कारणले दाजुको स्वास्थ्य बिग्रिँदै गएको र मेरो बुवामाथि दोषारोपण गरिएको वर्षौं भयो ।
आरोपहरू सत्यै भएको भए हामी दाजु–बहिनी घर र मायाविहीन हुन्थ्यौँ होला । तर हामी अझै हाम्रो बुवा, आमा, काका–काकीहरूसँग छौँ । आफ्नो तरिकाले अगाडि बढ्न खोज्दै छौँ र यो बाहेक जे गफ आउँछन्, ती गफै मात्रै हुन् ।
जीवनमा सबैलाई कुटाई र गाली–गलौजले पर भगाएपछि उहाँसँग त्यही मिडिया र हाम्रो जीवन नबुझ्नुभएका कमेन्टका सपोर्टर्स मात्रै छन् । बाँकी छोरा–छोरी जुन बुवासँग बस्न पुगेका छन्, बुवाले हरेक कर्तव्य पूरा गर्नुभएको छ । अरू कसैले बोल्न सिकाएको छ नानीलाई भन्नुहोला, तर आफ्नो कथा र आफ्नो परिवारको लागि बोल्न सक्ने क्षमता भएको छोरा–छोरी हुर्काउनु भएको छ गजुरेलजीले ।

