कांग्रेस बैठक आज, महाधिवेशनबारे पनि छलफल


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पुनः बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनबारे सहमति खोज्ने प्रयास हुनेछ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी १५ औं महाधिवेशन कहिले गर्ने भन्नेमै अल्झीरहेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक पुनः बस्ने तय भएको छ ।

यद्यपि महाधिवेशन बारे नेताहरूको छुट्टाछुट्टै धारणा आइरहेकाले अझै टुंगोमा पुग्ने देखिन्न। पार्टी सभापति शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्केर यसबारे नेताहरूलाई छुट्टाछुट्टै भेट गर्दा पनि नेता शेखर कोइराला पक्षले नियमित महाधिवेशन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिशेष महाधिवेशनको एजेन्डा छाडेका छैनन् । तर, संस्थापन पक्षका नेताले भने फागुन २१ पछि महाधिवेशन गर्न उचित हुने भनिरहेका छन् । यो कुरा शेखर पक्ष र महामन्त्रीद्वयले मानिरहेका छैनन्  ।

पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने बिषयमा नै अल्झिएको बैठक एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर सहमति जुटाउने कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अनौपचारिक प्रयास पनि सफल भएको छैन। कार्यवाहक सभापति खड्काले गरेका प्रयासले कुनै काम नगरेपछि बैठक आज मंसिर ४ गते सम्मका लागि सारिएको थियो ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । त्यसैदिन उनलाई काउन्टर दिन संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । यद्यपि यादवको प्रस्तावलाई ब्यक्तिगत भन्दै अल्झाउने प्रयास पनि भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय