धर्मेन्द्र अस्पतालबाट ‘डिस्चार्ज’ भएर घरमै

मुम्बई । बलिउड अभिनेता धर्मेन्द्र बुधबार अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । हिजो बिहानैदेखि धर्मेन्द्रको मृत्यु भएको खबर भारतीय र नेपाली संचारमआध्यममा आएको थियो । धर्मेन्द्र पत्नी हेमा मालिनीले समाचारमा आएको कुरा असत्य भन्दै त्यसको खण्डन गरेकी थिइन् ।
आज धर्मेन्द्रलाई छोरा बबी देओलले घर लगेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या उत्पन्न भएपछि धर्मेन्द्रलाई केही दिनअघि ब्रीच केन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालका चिकित्सक प्रतीत समदानीका अनुसार धर्मेन्द्रलाई बिहान साढे सातबजे डिस्चार्ज गरिएको हो । परिवारकै आग्रहमा अस्पतालबाट डिस्चार्ज गरिएको डा. समदानीले जानकारी दिए । उनका अनुसार परिवारले घरमै राखेर उपचार गराउन चाहेका कारण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
धर्मेन्द्रको घर आसपासको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । भिड जम्मा हुन सक्ने र अनियन्त्रित हुन सक्ने भन्दै उनको घर बाहिर सुरक्षाकर्मीले घेराबन्दी गरेको बताइएको छ ।

