गण्डकी प्रदेश संग्रहालयमा मौलिक(कोसेली) घर बन्ने

पोखरा ।गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने “मौलिक (कोसेली) घर” निर्माण हुने भएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोसेली घरको शिलान्यास गरेका छन् । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा उक्त कोसेली घर निर्माण हुन लागेको हो। सो अवसरमा मुख्यमन्त्री पाण्डेले कोसेली घर निर्माणपछि  प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्दै भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको बताए । “प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा प्रदेश सरकार लागिरहेको छ। दुई वर्षभित्र प्रदेशको विकासको दिशा स्पष्ट भएको छ । गण्डकी प्रदेश सातवटै प्रदेशमध्ये नेतृत्वदायी भूमिकामा छ।”, उनले भने ।
मुख्यमन्त्री पाण्डेले मौलिक घर निर्माणले गण्डकी प्रदेशको सांस्कृतिक पहिचान झल्काउने मात्र नभई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने केन्द्र बन्ने उल्लेख गरे । उनले भने, “संग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशका विविध संस्कृतिबारे बुझ्न सहज बनाउनेछ । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि ठोस योगदान पुर्‍याउनेछ।”
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले गरेका योजना सफल बनाउन स्थानीय समुदायको सहभागिता अनिवार्य रहेको बताए । सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय स्तरको सहयोग बिना दीगो परिणाम हासिल गर्न नसकिँने उनले औंल्याए ।“प्रदेश सरकारले बनाएका संरचनाबाट प्रत्यक्ष लाभ स्थानीय समुदायले नै पाउनेछन्। मौलिक संस्कृति र परम्परालाई आधुनिक समाजमा जोगाएर राख्नु हाम्रो साझा जिम्मेवारी हो”, उनले भने ।

मन्त्री थापाका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत निर्माणाधीन कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको रूप झल्काउनेछ । लोपोन्मुख कला र शैलीलाई जगेर्ना गर्दै आगन्तुकलाई गण्डकी प्रदेशको मौलिक वास्तुकला र जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यस्वरुप उक्त भवनको निर्माण गर्न लागिएको उनले बताए ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव दामोदर सुवेदीले गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट क्रमागत योजना अन्तर्गत सञ्चालन भइरहेको यस परियोजनाको कुल लागत रु. २ करोड ८३ लाख २७ हजार ९३२ रुपैयाँ ३ पैसा (भ्याट र कन्टिन्जेन्सी सहित) रहेको र सम्झौता रकम रु. १ करोड ८५ लाख ८८ हजार २६४ रुपैयाँ ६६ पैसा (भ्याट सहित) रहेको जानकारी गराए । कोसेली घरको निर्माण आगामी असार मसान्तसम्म सक्नेगरि टुडे बिल्डर्ससँग सम्झौता भएको भनाई उनको छ ।
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले संग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताए । सांस्कृतिक पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजार विस्तार र समुदायमा आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनको छ । प्रदेश सरकारको उक्त कार्यलाई सफल पार्न स्थानीय तह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।
ठेक्का लिएको कम्पनी टुडे बिल्डर्सका ईन्जिनियर सिरश बास्तोलाले निर्माण कार्य समय अवधिमा नै सक्ने प्रतिबद्धता जनाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय