रास्वपाले समानुपातिक सांसदको टिकट ५० हजारमा बेच्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी निर्वाचनलाई मध्यनजर गर्दै समानुपातिक तर्फका उम्मेदवार हुन चाहनेका लागि आवेदन खुला गरेको छ। तर, आवेदन साथ ५० हजार रुपैयाँ समेत बुझाउनुपर्ने छ।
रास्वपाको चितवन सौराहामा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकपछि यो निर्णय सार्वजनिक भएको छ। पार्टीले उम्मेदवार हुन चाहनेका लागि रजिस्ट्रेसन शुल्क भनेर ५० हजार निर्धारण गरिएको हो।’प्रत्यक्षमा हामीले २५ हजार रुपैयाँ लिएका थियौँ। यसपटक समानुपातिकमा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ’- रास्वपाका एक नेताले बताएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पुस १८-१९ गतेका लागि तोकिएको छ। रास्वपाले समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि छुट्टै मापदण्ड बनाउँदै छ। यसको जिम्मा सहमहामन्त्री विपिन आचार्यले पाएका छन्। रास्वपाले यसअघि रुपन्देहीमा हुने उपनिर्वाचनको मनोनयनमा पनि २५ हजार शुल्क तय गरिएको थियो। तर, जेन-जी आन्दोलन पछि उत्पन्न घटनाक्रमले निर्वाचन भने हुन सकेन। अब फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको रास्वपा स्रोतको भनाइ छ।

