बाबुराम भन्छन्: कम्युनिस्टका ‘अकार’ र ‘इकार’ विवाद ‘वेकार’ !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालका कम्युनिस्टहरुले पार्टीको नाममै तर्क र विवाद गरेर समय खेर फाल्न लागेको भन्दै कम्युनिस्टका अनेक नामबारे कटाक्ष गरेका छन् ।

उनले कुनैबेला नेकपा मोटो (श) मशाल कि नेकपा पातलो (स) मसाल भनेर थुप्रै बहस र वादविवाद भएको स्मरण गर्दै सामाजिक संजालमा त्यतिबेलाको अनुभूति साझा गरेका छन् । २०४७ साल अगाडि डा.बाबुराम भट्टराई आफैं पनि मोहनबिक्रम सिंह नेतृत्वको नेकपा (मसाल) मा थिए। पुष्पकमल दाहाल प्रचण्ड नेकपा मोटो (श) मशालको महामन्त्री थिए। नेकपा मसालको नेतृत्वमा अहिले पनि ८९ बर्षिय मोहनबिक्रम सिंह नै छन् ।

बाबुरामले फेसबुकमा लेखेका छन् -‘हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरु अझै नेतृत्वमै हुनुहुन्छ।’ उनले त्यतिबेला मोटो (श) र पातलो (स) का गुरुहरु भनेका मोहन बिक्रम सिंह,प्रचण्ड र मोहन बैद्द हुन् । उनीहरु अहिलेसम्म पनि व्यर्थको बहसमा बढी केन्द्रीकृत हुने र नामकै विवादमा अल्झिरहेका देखिन्छन् ।

बाबुरामले अगाडी लेखेका छन् ‘अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!’

उनले यो पनि भनेका छन् -‘लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई ‘वे’ कार नभनून्!’

बाबुरामले नयाँ विचार,नीति,कार्यक्रम र संगठनमा ध्यान दिनुपर्ने भन्दै यस्तो सुझाव दिएका छन् -‘अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ? कणहरूको जो मर्जी!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय