धाप ड्यामको पानी वाग्मती नदीमा

काठमाडौँ । काठमाडौंको शिवपुरी स्थित धाप ड्यामको पानी वाग्मती नदीमा छाडिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले आज सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छाडिएको हो।

बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ।

उप–आयोजना निर्देशक तथा समितिका सूचना अधिकृत उद्धव नेपालका अनुसार हिजोदेखि ड्यामको पानी नदीमा छोडिएको छ। ‘धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्नका लागि करिब १४ घण्टा लाग्छ, त्यसैले आइतबारदेखि पानी छाडिएको हो, विशेष दिनमा ड्यामको पानी बागमती नदीमा छाडिँदै आइएको छ,’ उनले भने।

उनका अनुसार बागमती नदीमा दुई दिनसम्म प्रतिसेकेण्ड चार सय लिटर पानी छोडिनेछ। ‘यसरी पानी छोड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ,’ नेपालले भने।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले छठको अवसरमा बागमती नदीमा पानी छोड्नका लागि माग नआएकाले नदीको पानीको बहाब बढाउन पानी नछोड्ने बताए।

छठ पूजा विशेष गरी तराई क्षेत्रबासीहरुको प्रमुख पर्व हो। यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ। यस पर्वमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय