चलचित्र ‘ककाकिकी’को छायांकन सुरु

चलचित्र ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार बिहान चलचित्रको शुभमुर्हुत गरियो।

चलचित्र निर्माण टिमले ३५ दिने तालिका तय गरेर पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको छ। अबको २० दिन पर्वतमा नै गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि बाँकी काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिए ।

चलचित्र छायांकन स्थलमा फिल्मका सबैजसो कलाकार पुगेका छन् । अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार पर्वत पुगेका छन् । अबको केहीदिन उनीहरुको बसाई छायांकनस्थलमा नै हुनेछ। अभिनेत्री गौरी मल्ल पनि केहिदिनमा पर्वत पुग्ने फिल्मकी अर्की निर्देशक श्रद्धा प्रसाईंले जानकारी दिइन् । प्रसाईंका अनुसार अन्य केहि कलाकार बिचमा जोडिदै जानेछन् ।

फिल्म ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । ‘कमेडी दरबार’कै निर्देशकद्धय बिक्की र श्रृद्धाले नै फिल्मलाई निर्देशन गर्दैछन् भने फिल्मको लेखक पनि बिक्कीसँगै बिकास अर्याल र सरोज भण्डारी हुन् । यस्तै फिल्ममा स्क्रिन प्लेपनि बिक्की कै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाईरेक्टरको रुपमा रहेका छन् । फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।

निर्माण टिमले यसअघि गएको साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो । जुन पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा चित्रण गरिएको थियो । जुन पोस्टरका कारण पनि फिल्मको कथा रहस्यमय रहेको बुझन् सकिन्छ । फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय