कांग्रेसमा ‘विशेष महाधिवेशन’ हस्ताक्षर अभियान सफल भएको दाबी


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियान सफल भएको दाबी गरिएको छ।

आगामी मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने भएपनी त्यसको तयारी नभएको भन्दै पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु गरिएको हो। यद्यपि नेता डा. शेखर कोइराला पक्ष भने अझैसम्म नियमित महाधिवेशन कै पक्षमा छ।तर,महामन्त्रीद्वयको अभियानमा सामेल भएको प्रचार पनि गरिएको छ।

शेखर कोइरालाले अझै पनि शीघ्र नियमित महाधिवेशन भनिरहेपनि उनीनिकट नेता गुरुराज घिमिरेसहितका केही नेताहरू ‘सभापति शेरबहादुर देउवासहित केन्द्रीय पदाधिकारी असफल भएको’ भन्दै विशेष महाधिवेशनकै पक्षमा हस्ताक्षर अभियान चलाइरहेका छन् । यही समयमा आज (विहिवार) पार्टीको पदाधिकारी बैठक समेत बस्दैछ। गत भदौ २४ गते जेन-जी आन्दोलनमा घाइते भएका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । यो बैठकले नियमित महाधिवेशन वा विशेष महाधिवेशन लगायत समसामयिक घटनाबारे छलफल गर्ने बुझिएको छ।

महामन्त्रीद्वयको हस्ताक्षर अभियानले सार्थकता पाइरहेका कारण यसलाई वेवास्ता गर्न सभापति देउवालाई गाह्रो छ। यो अभियानमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ४० प्रतिशत भन्दा बढी भैसकेको सन्दर्भमा विशेष महाधिवेशन र सभापतिबाट देउवाको विश्राम नै अहिलेको उत्तम विकल्प हुने कांग्रेस नेताहरू बताउँछन् । हस्ताक्षरकर्ताहरुले भोलिसम्म ५० प्रतिशत पुर्‍याएर केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने भनेका छन् ।

पार्टी केन्द्रीय समिति बैठक २६ असोजमा सुरु हुनेभएकोले २५ गते नै केन्द्रमा हस्ताक्षर अभियानको दर्ता गरेर केन्द्रीय समितिमा छलफलको वातावरण बनाउने पक्षमा महामन्त्रीद्वय लागेका छन् । यद्यपि केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति घोषणा गरेमा हस्ताक्षर जरुरी नहुने तर,त्यसले पार्टी जीवनमा भने सधैंका लागि सहि दिशानिर्देश गर्ने हस्ताक्षर पक्षको बुझाइ छ।

२०७७ सालमा सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७५७ महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए । विशेष महाधिवेशनका लागि त्यसको न्यूनतम ४० प्रतिशत अर्थात् कम्तीमा १९०२ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्छ । तर, कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनअघि सभापति शेरबहादुर देउवालाई पदबाट हटाउन भने ३१७१ मत अर्थात दुई तिहाई मत आवश्यक पर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय