दसैं रिलिज तीन फिल्म : हल्ला बढी, कमाइ ९ करोड मात्रै !
काठमाडौं । प्रदर्शन अगावै १०० करोड एक्लैले कमाउने दाबी सहित प्रदर्शनमा आएको सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’ को कमाई रेकर्ड हेर्दा निकै तल छ। यद्यपि निर्माण पक्षले अझैपनी चलचित्रले भयंकर कमाई गरेको र दिनदिनै ‘शो’ हाउसफुल भएको बताइरहेका छन् ।
यो चलचित्र देशभक्तिको कथामा बनेको उत्कृष्ट चलचित्र भनिएको छ। तर,दर्शक र समिक्षकले भने चलचित्र ‘बलिदान’ लाई ठिकै मात्रै भनेका छन् । यसमा नायक समीर भट्ट र अभिनेता सौगात मल्लको उपस्थितिलाई भने धेरैले रुचाएका छन् । अभिनेता तथा निर्देशक बिराज भट्टका छोरा समीर भट्टको एक्सनको तारिफ गरिएको छ। समिक्षकले पनि एक्सन धेरै राम्रो तर,कथा सामान्य भनेका छन् ।
त्यसैगरी ‘बलिदान’ सँग टक्कर गर्न आएको अर्को चलचित्र ‘माइतीघर’ को पनि बकस अफिस कलेक्सन खासै उत्साहजनक छैन। निर्माता रोहित अधिकारीले निर्माण गरेको यो चलचित्र मिलन गुरुङले निर्देशन गरेका हुन् । म्याग्दीको सुन्दर दृश्य खिचिएको चलचित्रमा धिरज मगर,उपसना सिंह ठकुरी,केदार घिमिरे,बुद्धि तामाङ,प्रकाश सपूत र पुराना कलाकार युवराज लामाको अभिनय छ। चलचित्रले खासै राम्रो ब्यापार भने गरेको छैन।
दसैंको अवसर पारेर प्रदर्शनमा आएको अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ पनि दर्शकको मनमा बसेको त छ तर,सोचेजस्तो कमाई गरेको छैन। हरिवंश आचार्यको कथा र अभिनय समेत रहेको दिपेन्द्र के.खनाल निर्देशित यो चलचित्रले बक्सअफिस कलेक्सनमा माइतीघरलाई उछिनेपनी बलिदान भन्दा कम छ। चलचित्रमा हरिवंश सहित स्वस्तिमा खड्का,प्रकाश सपूत,प्रीयङ्का कार्की लगायतको अभिनय छ। सरोज ओली र हरिवंशका छोरा मोहितवंश आचार्य यसका निर्माता छन् ।
तर, चाडपर्व लक्षित यी तीन नेपाली चलचित्रले बक्स अफिसमा जम्माजम्मी ९ करोड जतिको मात्रै व्यापार गरेका छन्। बक्सअफिस रेकर्ड राख्ने चलचित्र विकास बोर्डले सार्वजनिक गरेको ८ दिनको बक्स अफिस रिपोर्टअनुसार तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ रूपैयाँ कमाइ गरेका छन्। यद्यपि तिनवटै चलचित्रका निर्माण पक्षले बोर्डको रिपोर्टलाई गलत भन्दै आएका छन् । उनीहरुले बक्स अफिस रिपोर्ट हचुवाको भरमा आएको र त्यो भन्दा निकै माथी कमाइ भैरहेको दाबी समेत गरेका छन् ।
बोर्डको रिपोर्ट अनुसार तीनवटामध्ये सन्तोष सेन निर्देशित ‘बलिदान’ ले सबैभन्दा धेरै व्यापार गरेको देखिन्छ। सोमबार रातिसम्मको विवरणअनुसार यो फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रूपैयाँ कमाएको छ। मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ को कमाइ २ करोड १३ लाख ६४ हजार ६९२ रूपैयाँ रहेको छ।