आगामी चुनावमा हुनसक्छ कांग्रेस-एमाले तालमेल

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका कांग्रेस-एमाले आगामी चुनावमा केही सिटमा तालमेलपछि पुनः सत्ता सहकार्य गर्ने तयारीमा रहेको खुलासा भएको छ।
यो तालमेल केही शिर्ष नेतालाई चुनाव जिताउन मात्रै भएपनी हुने स्रोतको भनाइ छ। प्रारम्भिक छलफलमा कम्तीमा एमाले-कांग्रेसका १५/१५ जना नेतालाई चुनाव जित्न सजिलो हुनेगरी एक अर्काले सघाउने छन् । ती क्षेत्रमा दुई दल मध्य एउटाले मात्रै उम्मेदवारी दिने र अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बीच जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका बिषयमा साझा धारणा सहित केही दिनमा भेटघाट हुने समेत तयारी छ। यद्यपि यो कुरामा दुबै पार्टी भित्र एकमत छैन । अब एमालेसँग मात्रै होइन कुनैपनी दलसँग मिल्न हुन्न भन्नेमा कांग्रेस भित्र ठूलो जनमत तयार भएको छ। नेता शेखर कोइराला सहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा गठबन्धन वा तालमेलको विपक्षमा छन् ।
दुई पार्टीका शिर्ष नेतृत्वबीच जेन-जी आन्दोलन अघिको सहमति अझै जारी राख्नेगरि कुराकानी हुने एमालेका एक केन्द्रीय नेताले परेवान्युजलाई बताए।’अबको परिस्थितिमा झन् दलहरू मिल्नुपर्ने देखियो’ उनले भने,-‘सकेसम्म लोकतान्त्रिक शक्तिहरु सबै मिलेर अहिले देखिएको अन्यौलता हटाउने र संविधानको रक्षा अनि जनताको चाहना अनुसार काम गर्ने भन्ने नै हो। यदि त्यसो हुननसके पनि एमाले-कांग्रेस चाहिँ चुनावदेखि सरकार सम्म तालमेल हुनैपर्छ।’
उनले बर्तमान सरकारको गठन र यसले चालेको कदम अस्पष्ट र रहस्यमय रहेको भन्दै कसैको उक्साहट वा दबाब र प्रभावका कारण सरकार चलेको हो भने त्यसको भण्डाफोर गर्नुपर्ने समेत बताए। जेन-जी आन्दोलनमा दमन गरेको नाममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेको बिषयमा पनि दुई पार्टी बीच गम्भीर छलफल हुने उनले बताए।
अर्का एक नेताका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले बीच अधकल्चो बनेको सत्ता सहकार्य आगामी चुनावपछि पुनः हुनेगरी छलफल भैरहेको छ। आगामी ०८४ को चुनावसम्म बलियो गठबन्धन गरेर दुई पार्टी सिस्टमको अभ्यास समेत गर्ने दाउमा रहेका यी दुई दलको चाहना जेन-जी आन्दोलनले बिथोलिएपछी अहिले विभिन्न किसिमका उपाय सहित छलफल भैरहेको बुझिएको छ। यद्यपि यसमा कांग्रेस भित्रका शेखर कोइराला र गगन थापा पक्ष अनि एमाले भित्रका पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षले भने अब फेरि दुई पार्टी मिलेर अघि बढ्ने कल्पना गर्नै नसकिने र नहुने भनेको छ।
अहिले कांग्रेस र एमालेका केही नेता पार्टी शिर्ष नेताको अघिपछि गर्दै दुई पार्टी बीच तालमेल मिलाउने अभियानमा रहेको स्रोतको भनाइ छ। जसले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई कन्भिस गर्ने जिम्मा लिएका छन् । यद्यपि अध्यक्ष ओली यो बिषयमा सकारात्मक रहेपनी देउवाले हुन्छ/हुन्न केही भनेका छैनन् । हाल आराम गरिरहेका देउवा अझै केही दिन सार्वजनिक कार्यक्रममा नदेखिने र ओलीले भेट्न चाहेपनी नभेट्ने मनस्थितिमा छन् । जेन-जी आन्दोलनमा ओली र देउवा दुबैको घर जलेपछी अहिले दुबै नेता भाडाको घरमा बसेका छन् । देउवा महाराजगन्ज र ओली भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बसिरहेका छन् ।
उता,फागुन २१ को निर्वाचनबाट फेरि दुई दल तालमेल वा सत्ता सहकार्य हुने कुरा असम्भव प्रायः रहेको कांग्रेसका एक नेता बताउँछन् । उनले अबको कांग्रेस एकढिक्का भएर अघि बढ्ने र एक्लै चुनाव लड्ने छ। नतिजा जस्तो आएपनी स्विवीकागर्ने तर कुनैपनी वामपन्थीको चुनाव चिन्ह बोकेर जनताको माझमा नजाने उनको भनाइ थियो। ‘हामी कसैसँग तालमेल वा सहकार्य गर्ने छैनौं । माओवादी र एमाले बोकेर हिड्दा जनताको नजरमा कांग्रेसको पहिचान नै अर्कै भैसक्यो’ उनले भने,-‘हामी आफ्नै उम्मेदवार र आफ्नै चुनाव चिन्ह बोकेर जनताको घरदैलो पुग्छौं।’

