दसैँमा ६ लाखले काठमाडौं छाडे

काठमाडौं । दसैँको चहलपहल सुरु भएसँगै आजसम्म साढे छ लाखले संघीय राजधानी काठमाडौं छाडेका छन् । यो प्रहरीले दिएको रेकर्ड हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि फूलपाती बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । त्यसपछि दुई दिनमा थप १ लाख बाहिरिएको अनुमान गरिएको छ।
काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । “यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ,” उनले भने ।
साथै, दसैँको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् । हवाइ यात्रा,निजि सवारीसाधन र नजिकै जिल्लामा पैदल हिडेर काठमाडौं छाड्ने सबैको हिसाब गर्ने हो भने ८ लाख हाराहारीले राजधानी छाडेको अनुमान छ। यद्यपि गतवर्षहरु जस्तो यसवर्ष दसैंमा चहलपहल छैन। जेन-जी आन्दोलनले देशमा पारेको प्रभाव चाडपर्वमा समेत परेको देखिन्छ ।

