दसैंमा सिनेमा : के होला व्यापार ?

यस वर्षको दसैंमा ठूलो बजेट र नाम चलेका कलाकारको अभिनय रहेका तिन नेपाली चलचित्र प्रदर्शनको सम्मुखमा छन् । एक अर्काबिच हिलो छ्याप्ने र साइबर सेना लगाएर प्रतिस्पर्धीको चलचित्रको ब्यापार ध्वस्त पार्न सम्म हर्कत भैरहेको टिप्पणी आइरहेका बेला यी चलचित्रले कस्तो ब्यापार गर्छन् त्यो चाहिँ चलचित्र प्रदर्शन पश्चात् नै थाहा होला।

गत वर्षको दसैंमा पनि यस्तै भएको थियो। गतवर्ष बिराज भट्टको चलचित्र ‘१२ गाउँ’ र दिपकराज गिरीको चलचित्र ‘छक्कापन्जा-५’ मुख्य प्रतिस्पर्धामा देखिएका थिए। त्यससँगै जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ पनि प्रतिस्पर्धामा थियो। दिपकराज गिरीसँग सम्बन्ध चिसिएको कारण दिपक र जितुको पनि छुट्टै प्रतिस्पर्धा थियो । तर, बिराज भट्टको चलचित्रलाई निर्माता निर्देशक सन्तोष सेन र दिपकको चलचित्रलाई रोहित अधिकारीको समर्थन थियो। अन्ततः व्यापारमा १२ गाउँ अगाडि देखियो भने छक्कापन्जा दोस्रो र ज्वाइँ साब धेरै पछाडी रह्यो । बिराज भट्टको १२ गाउँले १९ करोड कमाइ गर्दा दिपकको छक्का पन्जा-५ ले १७ करोड र जितुको ज्वाइँ साबले ३ करोडमै चित्त बुझायो। तर,बिराज भट्ट,दिपकराज गिरी,रोहित अधिकारी र सन्तोष सेन बीच सम्बन्ध चिसिने वातावरण त्यै बेला बनेको हो।

अब यसवर्षको कुरा गरौं, गतवर्ष प्रतिस्पर्धामा रहेका बिराज भट्ट र दिपकराज गिरीको यो दसैंमा चलचित्र छैन। यद्यपि विराज भट्टको छोरा समीर भट्ट (जो १२ गाउँको पनि नायक हुन्) को चलचित्र बलिदान यसपटक फूलपातीको दिन रिलिज हुँदैछ। दिपकराजकै सहयात्री साथी रोहित अधिकारीको लगानी रहेको ‘माइतीघर’ पनि सोही मितिमा रिकिज हुँदैछ। त्यसैदिन हरिवंश आचार्य अभिनित र उनकै छोरा मोहितवंश आचार्यले निर्माण गरेको दिपेन्द्र के.खनालको चलचित्र ‘हरिबहादुरको जुत्ता’ पनि रिलिज हुनेछ। रोचक के छ भने सन्तोष र रोहितको झगडा छ, एकअर्कामा आरोप प्रत्यारोप छ र एकले अर्कोको चलचित्रलाई सिध्याउन ‘साइबर सेना’ खटएको आरोप पनि छ। यसमा दिपकले बढी गाली खाइरहेका छन् । कारण चाहिँ सन्तोष सेनले नामै उल्लेख गरेर फेसबुकमा लेखेका छन् !

दसैंको फूलपातीदेखी प्रदर्शनमा आउने तीनवटा चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को शो बाँडफाँट समेत भैसकेको छ। अधिकांश मल्टिप्लेक्सले फूलपातीको दिन रिलिज हुने यी चलचित्रको शो बाँडफाँट गरेका हुन् । जसमा सन्तोष सेनको चलचित्र बलिदानले बढी शो पाएको छ। अग्रिम टिकट बुकिङ पनि आक्रामक देखिन्छ। यद्यपि ट्रेलर रिलिजमा युटुब ट्रेन्डिङमा चाहिँ बलिदान पछी र माइतीघर अगाडि छ।

मल्टिप्लेक्सले गरेको बाँडफाँटमा ‘बलिदान’लाई देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंका आउटलेटमा मात्रै ४१ शो दिएको छ ।

दोस्रो स्थानमा ‘माइतीघर’ छ । क्यूएफएक्सले यो चलचित्रलाई काठमाडौंका आफ्ना आउटलेटमा २८ शो दिएको छ । तेस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’को शो छ । क्यूएफएक्सले काठमाडौंका आउटलेटमा ‘हरिबहादुरको जुत्ता’ले २७ शो पाएको छ । हरिबहादुरको जुत्ता भन्दा माइतीघर एक शो मात्र बढी छ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँचवटा आउटलेटमा ‘बलिदान’ले २१ शो पाएको छ । ‘माइतीघर’ले १५ र ‘हरिबहादुरको जुत्ता’ले १४ शो पाएको छ । यहाँ पनि माइतीघर एक शो मात्रै बढी छ।

वान सिनेमामा बलिदान’ले १० शो पाएको छ । ‘माइतीघर’ले ९ र ‘हरिबहादुरको जुत्ता’ले ७ शो पाएको । अन्य मल्टिप्लेक्समा पनि करिबकरिब यस्तै बाँडफाँट भएको देखिन्छ। अग्रिम टिकट बुकिङ हेर्दा सबैको उस्तै उस्तै छ। यहि समय हलमा चलिरहेको नेपाली चलचित्र रिमै र कोशेढुङ्गा पनि केही शो मा यथावत रहने देखिन्छ भने हिन्दी चलचित्र जोली-एलएलबी ३ पनि प्रदर्शनरत छ ।

‘बलिदान’ सन्तोष सेनको ड्रीम प्रोजेक्ट हो। यसमा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल,अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन आफैं पनि मुख्य भूमिकामा छन् । प्राविधिक मुम्बईबाट ल्याएर मोरङको कानेपोखरी जंगलमै सेट निर्माण गरेर बनाइएको चलचित्रमा झन्डै ६ करोड खर्च भएको भनिएको छ। यसरी हेर्दा लगानी मात्रै उठाउन पनि कम्तीमा १५ करोड माथिको ब्यापार गर्नैपर्ने दबाब देखिन्छ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । उनीसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत लगायत पनि छन् । यसमा कथा हरिवंशकै छ।

सँगै रिलिज हुने अर्को चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, उपासना सिंह ठकुरी,युवराज लामा र प्रकाश सपूत मुख्य भूमिकामा छन् । म्याग्दीको सुन्दर दृश्य खिचिएको यो चलचित्र सामाजिक पारिवारिक चलचित्र भएको र सबैले रुचाउने निर्माण पक्षको दाबी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय