भारतीय केरा रोक्न किसान आन्दोलित

नवलपरासी । पश्चिम नवलपरासीका केरा किसानहरू भारतीय केराको अत्यधिक आयातका कारण मर्कामा परेका छन्। उनीहरुले सडकमै केरा फालेर आन्दोलन समेत सुरु गरेका छन् ।

सस्तो भारतीय केराले बजार ढाकेपछि स्वदेशी उत्पादनले उचित मूल्य र बजार पाउन नसकेको भन्दै नवलपरासी केरा उत्पादक संघले आन्दोलन सुरु गरेको हो। केही दिन अघि चितवनका केरा व्यवसायीले पनि दसौं तिहार र छठसम्मलाई पुग्ने केरा आफुहरुसँगै रहेकोले भारतीय केरा आयात नगर्न सुझाब दिएका थिए।

नवलपरासी केरा किसान संघका अध्यक्ष लक्खु प्रसाद यादवका अनुसार, सरकारले आफ्ना मागहरू सम्बोधन नगरे थप कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिनेछ। किसानहरूले भारतीय नम्बर प्लेटका केरा बोकेका गाडीहरूलाई नियन्त्रणमा लिने र माग सुनुवाइ नभए केरा सडकमै फ्याँक्ने चेतावनी पनि दिएका छन्।

उनीहरूले ६ महिनाभन्दा बढी समयदेखि सरकारलाई समस्या समाधानका लागि आग्रह गर्दै आए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।

जिल्लाको गण्डक कमाण्ड क्षेत्रमा १८२५ बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ, जसमा कुल ३७४० घरधुरी संलग्न छन्। किसानहरूले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति कार्यान्वयन गर्न र तत्काल भारतीय केरा आयात नियन्त्रण गर्न माग गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय