मन्त्री बन्ने सूचिबाट संगीता ‘आउट’

काठमाडौं । आज २ बजे सपथ ग्रहणको तयारी भैरहेका बेला मन्त्री बन्ने सूचीबाट एकजनाको नाम काटिएको छ। हिजो नियुक्त भएका ५ मध्य ४ जनाको मात्रै सपथ हुने जनाइएको छ।

नागरिकता विवाद र अन्य केही कुरा समेत उठेपछि यो सूचिबाट डा.संगीता कौशल मिश्र ‘आउट’ भएको स्रोतले जनाएको छ। उनको नाम काटिएको र अन्य ४ जनाको मात्रै नाम राखेर राष्ट्रपति कार्यालयमा सपथका लागि पठाइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस गरी राष्ट्रपतिको कार्यालयमा नाम पठाएकी थिइन्। डा.मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषय गम्भीरतापूर्वक उठेको भन्दै आज नाम काटिएको हो।

डा.मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन्। मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर, सपथ अगावै उनी ‘आउट’ भएकी छन् ।

आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले मात्र शपथ खाने छन्। शपथ समारोह दिउँसो २ बजे शीतल निवासमा हुँदै छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय