७९ वर्षीय कांग्रेस सभापति देउवाको गर्धनमा चोट

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा निवासमै आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको उपचार भइरहेको छ।
देउवा निकट स्रोतका अनुसार देउवा दम्पतीको गर्धन र ढाडमा गम्भीर चोट छ। उनीहरुको अहिलेपनि उपचार जारी छ। अझै एक साता अस्पतालमा नै उपचार हुने स्रोतले बताएको छ।
काठमाडौंको बुढानिलकण्ठस्थित घरमा नै ७९ वर्षीय देउवा र ६३ वर्षीय राणामाथि आक्रमण भएको थियो। खाना खाने तयारी हुँदै गर्दा उनीहरुमाथि एक्कासी आक्रमण गरिएको थियो।
आन्दोलनकारी उनको घरमा पुग्दा सुरक्षाकर्मी र वरिपरिका स्थानीयले रोक्ने प्रयास गरे पनि सम्भव भएन। आक्रमणकारी जेन-जी हुन् वा अरु आपराधिक पृष्ठभुमिका ब्यक्ति भन्ने अनुसन्धान भैरहेको छ। देउवा दम्पती माथी आक्रमण गरेर उनको घर तथा गाडी र बगैंचा समेत ध्वस्त पारेका थिए।
आन्दोलनकारी मध्यकै केही युवा र देउवाको सुरक्षामा रहेका कर्मचारीको सहयोगमा उनीहरुलाई घर बाहिर निकालेर सेनाको हेलिकप्टर मार्फत उद्दार गरी अस्पताल पुर्याइएको थियो।
पाँच पटक देशको प्रधानमन्त्री भइसकेका देउवा र निवर्तमान परराष्ट्र मन्त्री आरजु राणालाई लक्षित गरेर आक्रमण हुनु दु:खद र निन्दनीय कार्य भन्दै नेपाली कांग्रेसले खेद व्यक्त गरेको छ।

