केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध कर्तव्य ज्यान मुद्दाको निवेदन परेको छ। यद्यपि मुद्दा प्रहरीले दर्ता गर्न बाँकी छ।

कपिलवस्तुका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका हुन् । उनको निवेदन अध्यनकै क्रममा छ।

नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जाहेरीपत्र बुझाएको बुझिएको छ। प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने भनेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको उनले आरोप लगाएका छन् ।

जेनजी प्रदर्शनका क्रममा अहिले सम्म ५३ जनाले ज्यान गुमाएका छन् । सोही कारण ओलीको प्रधानमन्त्री पद गुमेको थियो । अहिले नयाँ प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र संसद समेत विघटन भएर फागुन २१ लाई चुनाव घोषणा भैसकेको छ ।

आइतबार अदालत खुलेपछि निवर्तमान सरकारमा रहेका गृहमन्त्री रमेश लेखक सहित प्रहरी प्रमुख र केही नेताका विरुद्ध उजुरी दिने तयारी भैरहेको समेत बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय