सेनाको घेराबाट ओलीले लेखे-‘….निकास दिन सिफारिस गर्दछु’

काठमाडौं । राजिनामा दिएर गुपचुप नेपाली सेनाको शरणमा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा राष्ट्रपतिबाट अन्तरिम सरकार गठन भएको छ।
नेकपा एमाले लगायत दलहरूले सुशीला कार्की नेतृत्वको सरकार गठन र संसद विघटनमा जति नै रोइलो गरेपनी अन्ततः संविधान सम्मत नै निवर्तमान प्रधानमन्त्री ओलीबाट पत्र लेखाएर मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका हुन् ।
स्रोतका अनुसार राजीनामा दिएपछि संविधान अनुसार पनि कामचलाउ प्रधानमन्त्री ओली नै हुने भएपछि केही त उपाय निकाल्नुपर्छ भन्ने कानुनविदको राय अनुसार ओलीलाई पत्र लेख्न लगाइएको हो। ओलीले राष्ट्रपति समक्ष पत्र लेख्दै भने-,‘संविधानको पालक र संरक्षकका रूपमा आवश्यक निकास दिन सिफारिस गर्दछु।’
निवर्तमान प्रधानमन्त्री ओलीबाट सिफारिस आएपछि राष्ट्रपति कार्यालय, शीतलनिवासबाट यस्तो विज्ञप्ति जारी भयो, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकङ्क्षाअनुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्शसमेतका आधारमा नेपालको संविधानबमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी श्री सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’
यहाँ प्रधानमन्त्रीबाट भन्ने शब्दले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भन्ने अर्थ लाग्ने एकजना कानुनविद्ले परेवान्युजलाई बताए । यसमा सबै प्रक्रिया संविधान सम्मत भएको उनको तर्क थियो।

