सुशीला कार्कीकाे नाममा सहमति, संसद विघटनबारे विवाद

काठमाडौं । अन्तरिम सरकार बनाउनु अघि संसद विघटन गर्ने कि नगर्ने भन्ने विवादले मध्यरातको वार्ता टुंगोमा पुग्न सकेन। यद्यपि अन्तरिम सरकार बनाउनेबारे जेन-जी,राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेना सहित सबै पक्ष सहमतिमा पुगेका छन् ।

नेपाली सेनाको सहजीकरणमा राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको भेटवार्ता पछि मध्यरातमा पुनः सबैपक्षको वार्ता भएको थियो। वार्तामा बालेन साह पक्षको नेतृत्व उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गरेका थिए।

वार्तामा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ । जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिल्न बाँकी छ। संभवत आजै सबैकुराको छिनोफानो भएर देशले अन्तरिम सरकार पाउने छ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस,एमाले र माओवादीको पनि बटमलाइन यही रहेको उनका नेताहरूको विज्ञप्तिले देखाउछ। तर, शिर्ष  नेताहरू सबै नेपाली सेनाकै सुरक्षा घेरामा भएकोले उनीहरुको धारणा बाहिर आएको छैन।

जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेको बुझिएको छ। उनको यो प्रस्तावलाई राष्ट्रपतिले अस्वीकार गरेको भनिएको छ। वास्तविक कुरा बाहिर आउन बाँकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय