बाबुरामले ओली भष्मासुर, बालेन-हर्क आगोको झिल्को भन्दा हामीले के बुझ्यौं ?
शिरज शर्मा
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ५ वर्ष अगाडि नै खड्गप्रसाद ओली भष्मासुर हुन् यिनको विदाइ गर्ने समय आयो भन्दा हामीले त्यसलाई सहि बुझ्न सकेनौं । आज जेन-जी पुस्ताले त्यो समयमै बुझ्यो र ओली सहित केही भष्मासुरहरु लखेटिएका छन् ।
तर, बाबुरामको कुरा त्यै बेलामा बुझ्न् नसक्दा यो ५ वर्षमा देश लुट्न भेष बदलेर धेरै लुटेरा कुर्सीमा पुगे। तिनलाई लखेट्न समय लाग्यो, त्यसको परिणाम अर्बौंको क्षति व्यहोर्नुपरेको छ। अझैपनि कुनै जस्केलाबाट छिर्न सकिएला कि भनेर ती भ्रष्टका अवशेषले टाउको उठाउने खतरा बाँकी छ। जेन-जी पुस्ताले यसमा निरन्तर खबरदारी गरिरहनुपर्ने देखिन्छ।
सत्ता, शक्ति र दम्भ क्षणिक हुन् त्यसले सधैं साथ दिदैन र जुनदिन सत्ता र शक्ति गुम्छ त्यो दिन हारगुहार गर्ने ठाउँ पनि बाँकी रहँदैन भन्ने कुरा मंगलबार नेताहरूले राम्रोसँग बुझे होलान् ।
जनता भन्दा माथि कोही शक्तिशाली हुँदैन भन्ने कुरा बिर्सेर भ्रस्टाचार गर्ने, देश लुटेर अकुत सम्पत्ति जोड्ने अनि जनताको छोराछोरी माथी गोली बर्साउँदाको परिणाम के हुने रहेछ केपी ओली,शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,आरजु राणा र तिनका पछि लाग्ने बिचौलिया र चम्चेहरुले पनि बुझ्नुपर्ने थियो र बुझे होलान् ।
केही घन्टा अगाडिको त्यो राजश्री रवाफ,जनतालाई रैती ठान्ने हुकुमी शैली क्षणभर मै स्वाहा भयो। हजारौंको मेकअप सामाग्री पोतिने अनुहारमा कालो दाग पोतियो,करोडौंको गाडी चढेर निस्कने ढोकाबाट रक्तमुछेल अवस्थामा तिनै आन्दोलनकारी युवाको सहारा लिएर निस्कनुपर्यो । अनि त्यो दम्भ र अहंकारले के सम्म गरेन ? धन्न ज्यान बाँच्याे । अब तिनको चेत खुलोस् र पुनः गल्ती नदोहोर्याउन् !
यहाँनेर हामीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई स्मरण गर्नैपर्छ । उनी कति दूरदर्शि नेता हुन् भन्ने बुझ्न उनले बिगतमा उठाएका केही कुरा मनन मात्रै गर्दा थाहा हुन्छ। पहिलो कुरा उनले भ्रष्टाचारको बारेमा २०७६ फागुन १४ गते बुधबार संघीय संसदको रोष्ट्रममै उभिएर भनेका थिए-‘केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौं’ त्यतिबेला संसदमा रहेका कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताले एक अर्कामा हेर्दै बाबुरामको खिल्ली उडाएका थिए। संघीय संसदको रेकर्ड मै भएको त्यो भिडियो अहिले सामाजिक संजालमा हेर्न सकिन्छ ।
‘गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, डा.भट्टराईले त्यसबेला भनेका थिए, ‘म लगायत हामी सबै हिजो त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ? म लगायत सबैको छानबिन गरौं।’
त्यसपछि भट्टराईले २०८१ कार्तिक ५ गते पोखरामा पनि यो कुरा दोहोर्याएका थिए। उनले तत्कालीन सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउँदै शक्तिशाली लोकपाल बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले यो पनि भनेका थिए-‘आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएजस्तो गर्ने, देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न सक्दैन ।’
अर्को कुरा, बाबुरामले २०७७ चैत २१ बिहान ८:५३ बजे पूर्वप्रधानमन्त्री डा.भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा पनि दिएका थिए। भट्टराईले उतिबेला नै ओलीले देश डुबाउन सक्ने संकेत गरेकै थिए। ओलीको दम्भले मध्यरातमा संसद विघटन गरेपछि त्यतिबेला बाबुरामले भनेका थिए-,’अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो।’ तर, त्यतिबेला बाबुरामको कुरा नबुझेर जाइलाग्नेहरुले अहिले बुझे होलान्- त्यै बेला भष्मासुर ओलीको विदाइ गरेको भए अहिले यो दिन देख्नुपर्ने नै थिएन।
त्यसपछि ठुला दल हुँ हामिले जे गरेपनी हुन्छ भन्ने घमण्ड बोकेर अगाडि बढेका कांग्रेस,एमाले र माओवादीलाई बाबुरामले २०७९ असोज १ गते संसदको अन्तिम बैठकमा यो पनि भनेका थिए-‘युवा पुस्तामा यस्तो विद्रोहको लहर आउँदै छ। बालेन–हर्कहरु झिल्को मात्र हो। तर, यसलाई सम्बोधन गर्न सक्नु भएन भने आउँदो निर्वाचनमा सहरी क्षेत्रमा हामी बढारिन्छौं ।’
उनले यो पनि भनेका थिए-‘मलाई त आत्मविश्वास नै लाग्न छोड्यो । पाँच वर्षमा निकै गल्ती गरयौँ, जनताका समस्या सधाधान गर्न सकेनौँ । आगामी दिनमा चुनावमा जान पनि मुस्किल हुने छ । जनताका समस्यामा लाग्यौँ भने आगामी प्रतिनिधि सभामा भेट होला नत्र हाम्रो भेट होला नहोला भन्न सकिने अवस्था छैन ।’
यसर्थ, देशभर उठेको जेन-जी आन्दोलन क्षणिक आवेगमा उठेको होइन। कसैको लहड र सनकमा आन्दोलन सुरु भएको पनि होइन। ठुला दल भन्नेको हेपाइ र चेपाईले जनता निसासिएर पिल्सिएका थिए । जेन-जीको रगत उम्लनु पनि आकस्मिक होइन। हावा चलेकै थियो,पात हल्लिएकै थियो तर, शासन सत्ताको अहंकारले त्यो नदेख्दा आज देशमा आगो झोसेर भष्मासुरहरुको विदाइ भएको छ। अब वैकल्पिक र अग्रगामी शक्तिहरु फुटेर होइन जुटेर देश निर्माणमा लागौं, यसैमा हामी सबैको कल्याण हुनेछ।

