जंगबहादुरको कोतपर्व र अटेरी ओली !
शिरज शर्मा
प्रधानमन्त्री केपी शर्मा ओली अहिले कसैको सुन्दैनन्, कसैलाई गन्दैनन् र टेर्दैनन् । यसको नतिजा सोमबार (भदौ २३ गते) दिउँसो १२ बजेदेखि ३ बजेको समयमा २० जनाको ज्यान गयो, अन्य ४ सय जति घाइते भए। अझै के-के देख्नुपर्ने हो र कति क्षति व्यहोर्नुपर्ने हो टुंगो छैन। किनभने ओली सत्ता मै छन् !
काठमाडौं उपत्यकामा प्राकृतिक प्रकोप बाहेक एकैपटक एकसाथ हत्यामा यतिधेरै ज्यान गएको जंगबहादुरको कोतपर्व पछि सायद यो दोस्रो घटना हो। त्यसबाहेक २०५८ जेठ १९ मा राजदरबार भित्र पारिवारिक जमघटमा पनि नरसंहार हुँदा तत्कालीन राजा विरेन्द्र विरविक्रम शाहको बंश सखाप भएको थियोे । अहिले ओलीले त धेरै आमाको काख रित्तो बनाए, धेरै आमाबाबुको सपना गोलीले उडाइदिए।
ओली राजमा यति भयानक र दर्दनाक अवस्था कसरी आयो ?सोमबार बानेश्वरमा जे देखियो त्यो सामान्य होइन। यो सुनियोजित र ओलीलाई अघि बढ्नुस ‘बा’ भन्दै उकास्नेहरुको योजनाबद्ध कुकर्म थियो। कसैलाई बोल्नै नदिने गृहमन्त्री र संचारमन्त्री पनि यसमा संलग्न थिएनन् भन्न सकिन्न। जेन-जी पुस्ताले भ्रष्टाचारको बिरोध गर्यो,तिम्रा ‘बा’ को शासनमा भ्रष्टलाई संरक्षण गर्दा हाम्रा ‘बा’ खाडीमा पसिना बगाउन बाध्य भए र तिम्रो छोराछोरीको भविस्य उज्ज्वल हुँदा हाम्रो भविस्य समाप्त हुनालाग्यो भन्ने ति नेपाल आमाका कलिला सन्तानलाई ताकेर गोली हान्न निर्देशन दिने को थियो ? ती युवालाई गोली हानेर तिनको प्राणपखेरु उडाएर पनि नपुगेर अझै ओली राजमा के सम्म हुन्छ भन्ने देखाउन खोजिँदै छ,किनभने ओली सत्तामै छन् ! उनी सत्ताको भोको छन् ।
विक्रम संबत १९०३ असोज २ गते जंगबहादुरले शक्ति हत्याउन भाइभारादार लगाएर कोतपर्व मच्चाएका थिए । जंगबहादुरको ‘कोत पर्व’ले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो । तर, अहिले त ओलीको आफ्नै शासन चलिरहेकै थियो। जनताले जेब्रा क्र्ससिङबाट बाटो काट्दा पनि गाडीको ठक्कर सहेकै थिए। त्यतिमात्र होइन सामाजिक संजाल बन्द गरेर जनताको मौलिक हक,स्वतन्त्रताको हक र न्यायको हक खोस्दा पनि चुप बसेकै थिए। फेरि ओलीराजमा यत्रो आतंक किन ?
वि.सं. १९०३ भदौ ३१ गते राति रहस्यमयी हत्या गरिएका गगन सिंह भण्डारीको हत्यारा पत्ता लगाउन असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार भेला भएका तत्कालीन प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे लगायतका ४० जनाको कोतमा हत्या भएको थियो। तर, ओलीराजमा सोमबार त स्कुलले विद्यार्थी सहितको जेन-जी पुस्ताका युवाहरूलाई टाउको ताकी ताकी गोली ठोक्नुपर्ने के कारण होला ? १९०३ मा कोतको परिसरमा बगेको रगतको खोलाबाट जंगबहादुरको उदय भयो।
तर, यहाँ त ओली आफैं जंगबहादुर थिए भने के को लागि यो हत्या गरियो ? सत्ता र शक्तिको लागि भनौं भने केपी शर्मा ओली त सत्ता र शक्ति मै थिए। उनले कुनै चिज प्राप्त गर्न यो हदसम्म जानुपर्ने नै थिएन। अर्थात् कलिला विद्यार्थीको हत्या गरेर ओलीले पाउनुपर्ने के नै थियो र ? तर, किन यति ठूलो बर्बर राज्य आतंक भयो ? किन टाउको र छातीमा ताकेर गोली हानियो ? ती निर्दोष,निहत्था छोराछोरीलाई गोलीले उडाउनैपर्ने के बाध्यता आइपर्यो ? यसको जवाफ माग्ने कहाँ ? र दिने कसले ?
तर, भदौ १९ को सामाजिक संजाल बन्दको निर्णय, भदौ २१ को जेब्राक्रसिङमा बालिकालाई मन्त्रीको गाडीले ठक्कर दिएपछि गोदावरी सनराइज हलमा ओलीको जवाफ र भदौ २३ गते ओली नेतृत्वको सरकारले जेनजी पुस्ताको प्रदर्शनमा गोली बर्षाएर २१ जना युवाको हत्या अनि त्यसपछि बसेको मन्त्री परिषद बैठकमा प्रधानमन्त्रीको रुपमा ओलीले दिएका प्रतिक्रिया सुन्दा र हेर्दा अटेरी ओली भित्र यो घमण्ड कसरी आयो भन्ने लाग्छ ।
ओलीमा अझै कुनै पश्चाताप देखिन्न । उनले सोमबार राति भनेका छन्-‘घुसपैठ भएपछि सार्वजनिक सम्पत्तिको सुरक्षा गर्दा घटना भयो’ रे ! वाह, क्या गज्जब छ है ! घुसपैठ हुँदा घुसपैठ गर्नेहरू कारबाहीमा पर्ने हुन् कि ती स्कुले विद्यार्थी ? अनि ती स्कुले विद्यार्थीले कहाँ के सार्वजनिक सम्पत्ति लुटपाट गरे ? कहाँ के क्षति पुर्याए ? अनि गोली हान्नु अगाडी संयमित हुन भनियो ? कुनै माइकिङ गरियो ? समाउन खोजियो ? यो केही पनि गरिएन ।
आफ्नै पार्टी नेकपा एमाले,सत्ता साझेदार नेपाली कांग्रेस र नागरिक समाज,कानुन व्यवसायी एवं पत्रकार सम्मको कुरा सुन्नै नखोज्ने ओलीले मन्त्री परिषद बैठकमा न मन्त्रीको कुरा सुने न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टेलिफोनको कदर नै गरे। सामाजिक संजाल बन्द गर्ने निर्णय फिर्ता लिन देउवाले टेलिफोन मार्फत आग्रह गर्दा ओलीले टेर्दै टेरेनन् । उल्टै मन्त्रीहरुलाई समेत ओठे जवाफ फर्काएर ‘हुन्न’ भने। जनताको कुरा नसुन्ने,पार्टी भित्रका नेतालाई नटेर्ने,सत्ता साझेदार दलका सभापतिलाई नगन्ने ओली प्रवृत्ति खतरनाक देखियो। यही हिसाबले ओली अगाडी बढ्ने हो भने त्यो १९०३ को जंगबहादुरको उदय हुँदा भन्दा अहिले २०८२ भदौ २३ मा भएको ओली सरकारले गरेको बर्बरताले बढी क्षती पुर्याउने निश्चित छ।
सोमबार काठमाडौं लगायत देशका अन्य शहरमा ओलीले २/४ घन्टामै २० जनाको ज्यान जानेगरी र ४ समय भन्दा बढी घाइते हुनेगरी जुन बर्बर आतंक मच्चाए त्यसमा अझै प्रधानमन्त्रीको रुपमा अलिकति पनि हीनताबोध र पश्चाताप समेत मानेका छैनन् । सर्वहारा गरिब,किसान र मजदुरको प्रतिनिधित्व गर्छौं भन्ने कम्युनिस्ट आन्दोलनबाट आएका ओली किन यति धेरै घमण्डी,मूर्ख र अटेरी भएका होलान् ? के उनमा कुनै मानवीय संवेदना छैन ? के उनी ती कलिला युवाको टाउको र छातीमा गोलीले छेड्दा पनि दु:खी छैनन् त ? यी प्रश्नको उत्तर अब खोज्ने बेला भयो।
यसर्थ, कुनै कुराले ओलीको मन बदलिएको हो भने पनि वा सत्ता उन्मादले कसैलाई नटेर्ने र नगन्ने अवस्थामा पुर्याएको हो भने पनि एमाले भित्रका नेताकार्यकर्ताले यसबारे नेतृत्वलाई बेलैमा सम्झाउन पर्ने हो कि ! नत्र अध्यक्षसँगै सिङ्गो पार्टीलाई नै जनताले अस्विकार गर्ने दिन पनि आउन सक्छ। यस्ता घटनाले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमाले अध्यक्ष ओलीलाई रत्तिभर छुन सकेको छैन वा साच्चै प्रधानमन्त्री ओलीमा यो घटना प्रति कुनै ग्लानी छैन, दया माया र संवेदना छैन भने जनताले पनि दया देखाउन छाड्नेछन् । बेलैमा चेतना भया !

