सरकारी दमन : काठमाडौंमा १७ र इटहरीमा २ को मृत्यु

काठमाडौं । सोमबार आकस्मिक रुपमा सरकारले २ घन्टामै १९ को ज्यान लिएको छ। जेनजीले गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वर चोक र संसद भवन वरिपरि प्रहरीको गोली लागेर घाइते भएका झन्डै २ सय मध्य १७ को मृत्यु पुष्टि भएको हो। घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएकोमा उनीहरुको मृत्यु भयो। विभिन्न अस्पताल स्रोतका अनुसार अझै २१ जना गम्भीर छन् ।

जानकारी अनुसार वीर अस्पतालमा ६ जना गम्भीर घाइते उपचाररत छन् । ट्रमा सेन्टरमा ४९ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा ८ जनाको मृत्यु भइसकेको छ । बानेश्वरको एभरेष्ट अस्पतालमा ३४ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी त्यहाँ सात जना ट्रमाका बिरामी रहेका छन् । त्यसैगरी पाटन अस्पतालमा चारजना घाइतेको उपचार भइरहेको छ ।

काठमाडौं मेडिकल कलेजमा ३२ जना घाइतेको उपचार भइरहेको छ । त्यस अस्पतालमा पुगेका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ भने ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी टिचिङ शिक्षण अस्पतालमा १८ जना घाइते भएका छन् । त्यहाँ पनि एक जनाको मृत्यु भएको छ । नर्भिक अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ ।

उता इटहरीमा पनि प्रहरीले गोलि चलाएको छ। प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ। त्यसैगरी पोखरामा एक जना घाइते छन् । देशका अन्य ठाउँमा पनि आन्दोलनका कारण स्थिति तनावग्रस्त छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय