जेनजीले भन्यो-‘प्रदर्शनमा घुसपैठ भो !’

काठमाडौं । जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनबाट घर फर्किन आव्हान गरिएको छ।
माइतीघरमा प्रदर्शन गर्ने भनिएको आन्दोलनको स्वरुप बदलिएर बानेश्वर पुगेपछि घुसपैठ भएको आशंका छ । बानेश्वरमा संसद भवन लक्षित ढुंगामुढा हुनथालेपछि कर्फ्यु लगाउनुपरेको थियो।
त्यसपछि आन्दोलन झन् अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको हो। जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । यद्यपि आन्दोलनकारी सडक मै छन् । सशस्त्रको गाडी कब्जा, प्रहरी पोष्टमा आक्रमण,आगजनी लगायत केही असान्दर्भिक गतिविधि देखिएपछि स्थितिलाई नियन्त्रणमा लिन अहिले केही ठाउँमा सेना परिचालन गरिएको छ।
यता भिआइपीका घरमा प्रहरी तैनाथ बढाइएको छ भने नेताहरू लक्षित आक्रमण हुनसक्ने डरले सरकारले सुरक्षा बढाउन निर्देशन दिएको छ। आजको लागि बोलाइएको राष्ट्रिय सभा बैठक समेत स्थगित भएको छ।
यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको जेनजीको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’


