एमालेमा ओली अध्यक्ष विद्या भण्डारी संरक्षक !

काठमाडौं । नेकपा एमालेले पार्टीमा सक्रिय हुने पूर्वराष्ट्रपति विद्या भण्डारीको लागि पनि स्पेस दिने गरि मध्यमार्गी बाटो खोज्ने भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै मतभेद नरहेको र पार्टीमा ठाउँ दिनुपर्ने आसय राखेर पूर्वराष्ट्रपति भण्डारीले सन्देश पठाएपछि ओली नरम भएको बुझिएको छ। यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्ष नउठ्ने सर्तमा विद्या भण्डारीको सदस्यता नवीकरण गर्दै संरक्षक बनाउन सकिने निकटस्तहरुलाई बताएको खबर छ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि चलिरहेको दोस्रो बिधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खासै माहोल नतातेपछी अब ओलीसँग मिलेरै जाने तयारीमा भण्डारी पक्ष पनि पुगेको देखिन्छ। एमालेभित्र अहिले पूर्वराष्ट्रपति भण्डारी पक्षको नेतृत्व बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले गरिरहेका छन् । उनलाई उपाध्यक्ष युवराज ज्ञवाली,सुरेन्द्र पाण्डे र रामबहादुर थापा बादल सहित सचीवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराईले साथ दिइरहेका छन् ।

तर,जुन हिसाबमा महाधिवेशन प्रतिनिधिले विद्याको पक्षमा आवाज बुलन्द गर्नुपर्ने हो त्यो नभएपछि विद्या पक्ष पछि हट्न बाध्य भएको एक नेताले बताए। उनको दाबी अनुसार अब एमालेको आगामी महाधिवेशनमा ओली नै सर्वसम्मत अध्यक्ष हुने र विद्यालाई संरक्षक बनाएर लैजाने पक्का भएको छ। यति कुरा मिलेपछि पार्टीमा कुनै विवाद नरहने समेत उनले खुलाए।

गोदावरीमा जारी बिधान महाधिवेशनले केन्द्रीय पदाधिकारी र सदस्यको संख्या समेत टुङ्याउने छ। देशभरबाट आएका प्रतिनिधि र केन्द्रीय नेता एवं बिभागका सदस्य सहभागी बिधान महाधिवेशनपछि पार्टी ०८४ को  निर्वाचनमा केन्द्रित हुने समेत एमाले नेताहरूले बताएका छन् । ०८४ सम्म बर्तमान सत्ता गठबन्धन नटुट्ने भएकोले सरकारको काममा प्रधानमन्त्री र उनको टिम खट्ने तथा अन्य नेताकार्यकर्ताले ‘मिसन-०८४’ को तयारी गर्ने एमाले स्रोतको भनाइ छ। महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीले पनि ०८४ मा एमालेको बहुमत पक्का भएको बताएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय