विद्या भण्डारीलाई मैले जति माया र सम्मान कसैले गरेको छैन-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई आफुले जति माया र सम्मान कसैले नगरेको बताएका छन् ।
पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार साँझ काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । तर,अध्यक्ष ओलीले सो भेलामा बोलेको कुरालाई केही संचारमाध्यमले तोडमोड गरेको भन्दै सचिवालयले ध्यानाकर्षण सहित खण्डन गरेको छ ।
सचिवालयले जारी गरेको प्रेसनोटमा भनिएको छ-,’उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो । भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो । काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।’
भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको प्रेस नोटमा उल्लेख छ । यसैगरी ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुुग्नुुभएको भन्ने आश्चर्यमा परेको समेत बताएको प्रेस नोटमा भनिएको छ।
‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न । नेतृत्व लिने कु्रा कसैको आँखामा नबिझ्ने लालगेडी हुनुु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुुपर्छ, उल्काउनुु हुँदैन’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

