आज तीजको दरखाने दिन


काठमाडौं । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ।

तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ। विशेषगरी टाढा रहेका दिदी बहिनीलाई माइती पक्षले तीजमा निम्ता गर्छन्। दिदी बहिनी, परिवारका सदस्य, इष्टमित्र र छिमेकीहरू एकै ठाउँमा भेला भएर विभिन्न मिठा परिकार दरको रुपमा खाँदै रमाइलो गर्ने चलन विगतदेखि चल्दै आएको छ।

विगतमा तीजको अघिल्लो दिन मात्रै दर खाने चलन रहेपनि आजभोलि शहरी क्षेत्रमा एक डेढ महिनाअघिदेखि नै दर खाने र खुवाउने चलनको विकास हुन थालेको छ। जसलाई कतिपयले विकृतिको रुपमा पनि अथ्र्याउने गरेका छन्। दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन्।

पौराणिक कालमा पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ तीजमा विवाहित महिलाहरू पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिता युवतीहरू सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा आराधना गर्ने प्रचलन छ।

पछिल्लो समय भने निराहार व्रत बस्नेको संख्या घट्दै गएको छ। चिकित्सकले पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिने गरेका छन्। महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन्।

तर, पछिल्ला वर्ष तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढ्दै गएको भनेरसमेत कतिपयले आलोचना गर्ने गरेका छन्।

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृत बनाउन खोजेको उनीहरूको तर्क छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय