नेतामा संरचनागत केन्द्रीकृत साेच

मनोज कुमार कर्ण

आजकाे नेपाल संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक हाे जसमा जनतालाई आधारभूत शक्तिकाे रूपमा संविधानले चिन्दछ । हुनत संविधानले याे किटानमात्र गरिदिएकाे हाे नत्र जनतामाथि शाषण गर्ने स्वयंले देशमा आमजनता नै निर्णायक शक्ति हुन् भन्ने बुझ्नुपर्ने कुरा हाे ।

जाे नेतामा याे बुझ्ने चेत्त छ, उ पञ्चायतमा पनि जति नै भएपनि राजा त्रिभुवन वा राजा बीरेन्द्र अथवा राणाकालमा रहेका देवशम्सेर वा बालकृष्ण सम वा सुवर्ण शम्सेर जस्ता लाेकतान्त्रिक बन्नसक्छन् र, जाे नेतामा याे चेत्त छैन उ हालकाे २०७२ सालकाे संविधान अन्तर्गतमा पनि नेपालमा राणा वा पञ्चायतकाे शाहवंश जस्ताे बाँकी शाषकले झैं नितान्त पारिवारीक शाषण गरिरहेर जनतासँग दिनहुँ दूरी बनाउँदै जानेछन् ।

राणा र पञ्चायती शाषकहरूले बुझ्न ढिलाई गर्दा नै ती शाषणहरू यस देशमा ढलेका छन् ।

याे लेख संरचनावाद र उत्तरसंरचनावादकाे सामान्य मूलभूत सिद्धान्तमार्फत् नेताहरू जनतामुखी विकेन्द्रीकृत हुनुकाे साटाे व्यवहारमा परिवर्तन नल्याई कसरी केन्द्रीकृत तथा जनताबाट अलग-थलग केवल शाषकीय कार्यालय, आफन्त, अगुवापछुवासम्म सिमित हुनपुगेर काेही उनका निकटका प्राध्यापक, डाक्टर, ईञ्जिनियर, वकिल, शिक्षक, पत्रकार आदि बाैद्धिकवर्गले समेत नेतालाई सुधार्नुकाे साटाे उल्टै आफैंपनि झन् केन्द्रीकृत नै हुन रमाएर बाँकी जनता वा सराेकारवालालाई बेवास्ता गरिरहेका छन् भन्नेमा समर्पित छ ।

संरचनावाद (Structuralism) काे केन्द्रीयता

संरचनावादमा सम्पूर्ण ब्रम्हाण्डलाई एक ठाउँमा राखेर अध्ययन गरि साेहि अनुसार देश, विद्यालय, परिवार जस्ता आदि निकायमा साे संरचनारहेकाे भनेर बुझिन्छ । यसमा केन्द्र नै सर्वाधिक महत्त्वकाे अनुहार मानिन्छ । केन्द्र (Centre) मा रहेकाबाहेक अर्थात् पेरिफेरि मा रह्नेले आफ्नाे क्षमतापनि नबुझेर केन्द्रकाे सहयाेग वा निर्देशन बिना आफू शून्य, क्षमताहीन ठानेर निष्क्रिय, उदास वा कथित् अनुशासनमा बसेर आपत्तकाे बेलापनि केन्द्रकाे निर्देशन पर्खेर बस्ने हुन्छ । यस्तामा कर्मशीलता, गतिशीलताभन्दा भाग्यमा विश्वास गर्ने र ईश्वरले बाहेक आफू केही नगर्ने साेच हुन्छ । यहाँ हामी अनुशासनहीन भई उद्दण्ड हुनुपर्छ भन्न खाेजिएकाे नभई समय, काल, परिस्थिति अनुसार कसैकाे निर्देशन नहुँदापनि संस्था, देश वा आफ्नाे हीतमा निर्णल लिने हुनुपर्छ भन्न खाेजिएकाे हाे ।

संरचनावादकाे यस सिद्धान्तमा याे अखिल ब्रम्हाण्डकाे संरचना/बनावट नै महान् शक्तिशाली ईश्वरद्वारा भएकाे मानिन्छ जसकाे ईच्छा खराब वा राम्राे जे भएपनि मान्छेले खुशीपूर्वक मान्नुपर्छ, भाग्य वा ईश्वरकाे ईच्छाविपरीत केही गर्नुहुन्न भन्नेमा विश्वास गर्छन् । यस मान्यतामा ईश्वरलाई केन्द्रमा राखेर मनुष्यलगायत सम्पूर्ण जीव, जगत्लाई भने परिधिमा राखिन्छ । केन्द्रमा ईश्वरलाई पूज्ने हुन्छ, ईश्वरकाे खिलाफ केही गर्नु, बाेल्नु वा साेच्नुपनि हुन्न भन्ठानिन्छ । यस साेच अनुसार भगवानले आज खान मलाई दियाे भने विशेष धन्यवाद, नदिएपनि उनकाे मर्जी अनुसार “खुशी” हुँदै “धन्यवाद”दिंदै भाेलीकाे लागि “आशावादी” हुने हाे । अर्थात्, याे साेच/वाद भनेकाे पाेलिटिक्स अफ् सिंगुलारिटि (एकजनाकाे राजनीति) हाे । उहिलेका राजतन्त्रात्मक सत्ता वा अन्य कुनैपनि पारिवारिक-सिमित मान्छेद्वारा सिमित शाषण सत्ता संरचनावाद अन्तर्गत पर्छ ।

यस सिद्धान्तले ब्रम्हाण्डमा केन्द्रमा ईश्वरलाई अनि देशमा राजा (वा, राष्ट्रपति), परिवारमा प्राय: बुवालाई, विद्यालयमा गुरु/शिक्षकलाई केन्द्रमा र अन्य निकायमा पनि संस्था प्रमुखलाई केन्द्रमा राखेर अन्यले काम गरिरहेका हुन्छन् । सम्पूर्ण महत्त्व केन्द्रकै हाकीम वा भगवान वा बुवा आदिकाे हाे भनेर बुझिन्छ ।

उत्तर-संरचनावाद (Post-structuralism)काे विकेन्द्रीयता

संरचनावादकाे विपरीत उत्तर-संरचनावाद हाे जसका सबै अर्थ माथि उल्लेख भएकाेभन्दा विपरीत हुन्छन् । अर्थात्, उत्तरसंरचनावादी एकजनाले केन्द्रमा म छु भने परिधिमा मसँग सराेकार राख्नेसँग म नियमित साेधखाेजगर्ने, उत्तिकै महत्त्व दिने, उनीहरू बिना म केही हाेइन भन्ने अहंकारशून्य भई सबैलाई समादर गर्छ । यदि यस्ताे साेच भएकाे मान्छे आफू परिधिमा छ भने हक, अधिकारमात्र नभई आफ्नाे मान, सम्मान, ईज्जत, प्रतिष्ठा केन्द्रले वास्ता गरे-नगरेकाे ध्यान राख्छन् र नगरेकाे आभास भएपछि असहमति राख्दै प्रतिपल केन्द्रदेखि मनैबाट दूरी बनाउन थाल्छन् वा, विद्राेह गर्छ । यस्ताे मान्छेमा वैज्ञानिकता र चेतना बढी हुन्छ ।

उत्तरसंरचनावादमा विश्वास गर्ने भनेकै आफ्नाे महत्त्व बुझेर संरचनावादबाट एकप्रकारले विद्राेह मनमनै गर्ने हाे । हामी चेतनशील प्राणिभएकाले अनुशासन त हामीमा हुनैपर्छ, केन्द्रलाई आदर त गर्नैपर्छ तर केन्द्रले परिधिमा रहेकालाई बेवास्ता गरि आफू खुशी बढ्दा परिधिकाले समस्या निम्त्याईदिन सक्छ । यस वादमा विश्वास गर्नेले के बुझ्छन् भने यदि ब्रम्हाण्डमा ईश्वर छन् र उनले नै हामीलाई भाेजन, वस्त्र, लुगा, हावा, पानी, सूर्यकाे घाम आदि जरूरत दिनेभएर महत्त्वपूर्ण हुन् भने उनलाई ईश्वर बनाएर प्रतिष्ठित, पूजायाेग्य बनाउने म परिधिकै मान्छे हाे ।

यदि म परिधिकाेले केन्द्रवालालाई भगवान भनेर बाेलाईदिई परिचय गराई पूज्ने काम गरिदिएन भने उ कस्काे भगवान हुनेछ (?), अर्थात्, उसकाे स्वार्थभएरै उसले भगवान भएरपनि म परिधिकाेलाई मेरा आवश्यकता पूरा गरिदिएर जीवित राखेकाे हाे । अर्थात्, याे पाेलिटिक्स अफ् प्लुरालिटी (राजनीतिमा बहुवाद, एकभन्दा बढीले राजनीति गर्ने हाे) । यस वादमा राजा, राणाजस्ता पारिवारीक शाषणसत्ता नभई राजाकाे ठाउँमा राष्ट्रपति तथा जनताले भाेटदिएर जिताएर ल्याएकाे प्रधानमन्त्रीय शाषण व्यवस्था हाे । यस साेच अनुसार ब्रम्हाण्डकाे ईश्वरले मनुष्यलगायत सबै चराचर जगतलाई महत्त्व दिनुपर्याे, परिवारमा आमा-बच्चा नभए बुवामात्रकाे के महत्त्व हुने, विद्यालयमा विद्यार्थी नै नहुँदा कस्काेलागि शिक्षक भन्ने साेच्छन् ।

नेपालमा नेतृत्वले विकेन्द्रीत मन राख्ने

नेपाल हाल २०७२ सालकाे संविधान अनुसार गणतन्त्रात्मक व्यवस्थामा पाेलिटिक्स अफ् प्लुरालिटीमा अभ्यस्त भईरहेकाे देश हाे । पहिलाकाे शाहवंशीय राजा वा राणाकाे एक व्यक्ति सिमितकाे सहायताले पाेलिटिक्स अफ् सिंगुलारिटीकाे अवस्था परिवर्तन भईसकेकाे अवस्थामा हाे । माथि उल्लेखित कुरा भर्खर जन्मेका काेही शीक्षार्थीकालागि नयाँ हुनसक्छ नत्र सबैमा ज्ञात कुराे हाे । कम्युनिस्टहरूमा कार्ल मार्क्सकाे सिद्धान्त उत्तरसंरचनावादमा आधारीत सिद्धान्त अधिकारकाेलागि विद्राेह भन्ठानिन्छ । दाेस्राे विश्वयुद्धपछि झन् याे सिद्धान्त, स्वतन्त्रताका कुरा र अझ् सन् १९६० काे दशकदेखि व्यापकरूपमा विश्वमा अधिकारकाेरूपमा विद्राेहहरूभएका देखिन्छन् जसमा महिला, आदिवासी, जनजाति, मजदूर, दलित, मधेशी वा भनाैं हरेक देशका आफ्नै परिवेश अनुसार विद्राेहहरू विभिन्न समूहकालागि भएका छन् ।

नेपालमा २०६२/०६३ काे जन आन्दाेलन र साेपछि भएका मधेशलगायत अन्य अधिकारका आन्दाेलनपछि नेता र उनीहरूका भ्रातृ तथा शुभेच्छुक संस्थामा पठाईएका व्यक्तिद्वारा यस गणतन्त्रमा पनि कि बुद्धि नभएर हाे वा, कि सबै जानेरपनि सामन्ति पुरानाेढर्राले अभ्यस्तहुँदा अझै पाेलिटिक्स अफ् सिंगुलारिटिमा रहेका देखिन्छन् । संस्थामा म जीवित रहुञ्जेल म वा मेराबाहेक कसैले केही गर्न नपाउन्, सक्दाे संस्थामा अधिवेशन गराउनै नपराेस् भन्ठान्छन् ।

नेपालका राजनीतिक दलदेखि अन्य वैचारीक वा निकायहरूमा याे मानसिकता नबदलुञ्जेल संस्था तथा दलहरूमा गतिशिलता देखिने हाेइन र अन्तत: राजा वा राणाशाषणभन्दा पृथक शाषण नेपालमा रहेकाे जनताले अनुभूति गर्न पाउने छैनन् । यहिंबाट गणतन्त्रकाे अवसानपनि यीनै नेताहरूले गराउने हुन् । यति हुँदापनि, कक्षामा स्वयं शिक्षक र प्राध्यापकले संरचनावाद र उत्तरसंरचनावादका कुरा पढाएपनि उसकै चरीत्रमा सुधार नहुँदा याेभन्दा दु:खद् अरू के नै हुनसक्छ र ? यदि आफ्नाे निकायमा अधिवेशन गराउन सकेन वा केन्द्रीकृत मानसिकता हटाउन सकेन भने कमजाेर, अयाेग्य र असफल नेतृत्व ठाउँमा पुगेकाे भनेर बुझ्नसकिन्छ ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...