नागढुङ्गा सुरुङमार्गमा मोटरसाइकल ‘नो इन्ट्री’

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग आगामी पुस १७ अर्थात जनवरी २०२५ देखि संचालनमा आउने भएको छ। यो सुरुङ्ग मार्ग प्रयोगमा सवारीसाधनले शुल्क तिर्नुपर्ने छ।
जम्मा २ हजा ६ सय ८८ मिटर छ अर्थात २.६८८ कि.मि लम्बाईको यो सुरुङ्ग मार्गमा पैदल यात्री,साइकिल,मोटरसाइकल लगायत दुइपाङ्ग्रे सवारी र अति प्रज्ज्वलनशिल पेट्रोलियम पदार्थ र ग्यास बोक्ने सवारीले भने प्रवेश गर्न पाउने छैनन् । सुरुङसँगै २.५५७ किलो मिटर लामो रेस्क्यु टनेल पनि छ । सुरुङ बाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना निर्माण भएका छन् ।
संघीय राजधानी काठमाडौं आउजाउ गर्न साना र मझौला गाडीका लागि अन्य मार्ग पनि छन् । तर सबै किसिमका सवारी चल्ने यहि एउटा मात्रै मार्ग भएकोले नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नु पर्ने बाध्यता छ ।अब यो सुरुङ्गमार्ग सञ्चालनमा आएपछि भने धादिङको झ्याप्लेखोलादेखी बढीमा २० मिनेटमा काठमाडौं प्रवेश गरिनेछ।
नेपालकै पहिलो यो सुरुङ्ग मार्ग संचालनमा आउनै लाग्दा नेपाल सरकारले सुरुङ्ग मार्गको प्रयोग गर्दा लाग्ने दस्तुर तोकेको छ । सरकारले तोकेको शुल्क काठमाडौ भित्रिने र बाहिरिनेको हकमा फरक-फरक छ।
हेरौं शुल्क :
कार र भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०
मिनीबस र मिनीट्रक: काठमाडौं आउँदा रु. ११५, जाँदा रु. ८०
बस/ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००
भारी उपकरण: काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०

