०८४ को के कुरा ! त्यसपछि पनि कांग्रेस-एमालेकै सरकार बन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार ०८४ को चुनावसम्म मात्रै नभै त्यसपछि पनि कायम रहने बताएका छन् ।
उनले प्रधानमन्त्री फेरिन सक्ने तर,कांग्रेस-एमाले गठबन्धन नफेरिने भन्दै ०८४ को चुनाव पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। अबको एक बर्षपछी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने र ०८४ को चुनावपछि पनि फेरि गठबन्धनले निरन्तरता पाउने भविष्यवाणी गरे। ०८४ को आम निर्वाचन आउन अझै साढे दुई बर्ष बाँकी हुँदै प्रधानमन्त्रीको यस्तो भनाइ आएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
अहिलेको सरकारले जनताको पक्षमा राम्रो काम गरेकोले अबपनी कुनै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भवना नरहेको उनको भनाइ थियो।’एमाले-कांग्रेस बाहेक अरुको सरकार बन्छ भन्ने सोच्दै नसोच्नुस्’ प्रधानमन्त्रीले भने-‘कांग्रेस र एमालेले बहुमत ल्याउन नसके अहिलेजस्तै गठबन्धन गर्ने तर ‘टालाटुली बटुली’ गरेर सरकार बनाउने काममा लाग्दैनौ। जे जसरी सरकार बनाउनुपर्छ हामी नै बनाउँछौं ।’
प्रधानमन्त्री ओलीले अझै अगाडी भने, ‘यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छु कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले-काँगेसले बनाउँछन् । यो तीनवटा बाहेक अर्को कुनै विकल्प छैन ।’
कर्मचारीदेखि गठबन्धन गर्ने दुई दलका नेताकार्यकर्तालाई नै ढुक्कसँग काम गर्न आश्वस्त पार्दै ओलीले थपे- ‘तपाईंहरू ढुक्कले काम गर्न सक्नुहुन्छ, पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो। अहिले त्यो समस्या छैन । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ । अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन ।’

