राती मुस्ताङ जाने गाडी चलाउन राेक

काठमाडौं । यो वर्षाको समयमा तपाईं मुस्ताङ भ्रमणको योजना बनाउदै हुनुहुन्छ भने बाटोको अवस्था र प्रहरीको सूचना लिएर मात्रै यात्रा गर्नुहोला । धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेपछि केही स्थानको यात्रामा समय अनुसार रोक लगाइएको छ।
त्यस्तै मध्यको एउटा बाटो हो मुस्ताङ यात्राको। पहिरोका कारण जोखिमयुक्त बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले आजदेखी रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ ।
जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार आज साउन २७ गते मंगलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत बन्द गरिने भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मका लागि रातको समयमा सडकमा सवारी आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षातको समयमा पहिरोको जोखिम भएकाले रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरीचौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए ।
रघुगंगा गाउँपालिका–२, बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ ।
बेनी–जोमसोम सडक स्तरोन्नति अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ ।

