घानाका दुई मन्त्रीसहित ८ जनाको हेलिकोप्टर दुर्घटनामा निधन

एजेन्सी । घानाका रक्षा मन्त्री एडवर्ड ओमान बोआमा र वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इब्राहिम मुर्तला मुहम्मदको सैन्य हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। उक्त दुर्घटनामा उनीहरूसहित ८ जनाको ज्यान गएको छ।

सरकारी प्रवक्ताका अनुसार, राजधानी अक्राबाट अबुआसी जाँदै गरेको जेड ९ सैन्य हेलिकोप्टर बिहान स्थानीय समय अनुसार ९:१२ बजे उडेको केही समयपछि राडारबाट हराएको थियो। हेलिकोप्टरमा ५ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए।

दुर्घटनामा मृत्यु हुनेमा घानाका उप-राष्ट्रिय सुरक्षा समन्वयक तथा पूर्व कृषि मन्त्री अल्हाजी मुनीरु मुहम्मद, सत्तारुढ नेसनल डेमोक्रेटिक कांग्रेस पार्टीका उपाध्यक्ष सामुएल सार्पोङ, र चालक दलका सदस्य स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मानीन ट्वुम-अम्पाडु र सर्जेन्ट एर्नेस्ट एड्डो मेंसाह रहेका छन्।

मुख्य सचिव जुलियस डेब्राहले यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ को संज्ञा दिँदै देशभरका झण्डा आधा झुकाउने निर्देशन दिएका छन्। राष्ट्रपति जोन ड्रमानी महामाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दु:ख व्यक्त गरेका छन्।

रक्षा मन्त्री बोआमा जिहादी गतिविधिको जोखिम बढिरहेको उत्तरी घानामा सुरक्षा बल परिचालनमा सक्रिय थिए। उनी पूर्व राष्ट्रपति जोन अट्टा मिल्समाथि लेखिएको पुस्तक A Peaceful Man In An African Democracy सार्वजनिक गर्न लागिरहेका थिए।

वातावरण मन्त्री मुहम्मदले अवैध सुन खननविरुद्ध (स्थानीय रूपमा ‘गलामसे’) कडा कदम चालेका थिए, जसले वातावरण र जल स्रोतहरूमा विनाश ल्याएको थियो।

दुर्घटनाको कारण हालसम्म पुष्टि भएको छैन, तर हेलिकोप्टरका जलेका अवशेषको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय