देशका केही भुभागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभागमा रहेको छ। यसको प्रभावले कर्णाली, सुदूरपश्चिमलगायत पहाडी भूभागमा अधिकांश स्थानमा बदली भएको छ भने अन्य क्षेत्रहरूमा सामान्य बदली छ।
मधेस प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ। दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ भने अन्य स्थानमा सामान्य बदली रहनेछ।
रातिको समयमा देशभर सामान्य बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भन्दै सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

