निरोगी नेपालको लागी कोदो उत्तम : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बढ्दो आयातको खाडल कम गर्न र निरोगी नेपालको लक्ष्य हासिल गर्न कोदो खेती सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् ।
राष्ट्रिय कोदो दिवसका अवसरमा सन्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले मुलुकको बढ्दो खाद्यान्न आयात कम गर्न पनि कोदोको महत्वपूर्ण भूमिका हुने बताए। उनले कोदो खेतीमा अग्रसर हुन कृषकलाई आग्रह गर्दै हरेक नेपालीले खानामा एकछाक कोदो खाने गरेमा अझै उत्तम हुने सुझाए।
सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउने निर्णय गरेबमोजिम आज प्रथम कोदो दिवस मनाइएको हो। यही अवसरमा कृषिमन्त्री अधिकारी ललितपुर पुगेर कोदाली खने भने केही समय कोदो रोप्नमा ब्यस्त रहे।

त्यस लगत्तै मन्त्री अधिकारी नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कोदोको महत्त्वबारेको अन्तरक्रिया र कोदोबाट बनेका परिकार प्रदर्शनी तथा बिक्रि स्थलमा पुगेर आफ्ना भनाइ राखे। त्यस प्रदर्शनीमा काठमाडौं महानगरपालिका-६ बौद्ध स्थित मिराज ईन्स्टिच्युटले तयार पारेको कोदोका विभिन्न परिकार प्रदर्शनी गर्नुका साथै बिक्री गरिएको थियो।
मन्त्री अधिकारी सहित नेपाली कांग्रेसका नेताकार्यकर्ता र सहभागीले मिराजले तयार पारेका परिकार रुचाएका थिए। ‘हाम्रो कामको प्रशंसा गर्दै मन्त्रीज्यु र सहभागीले हौसला थप्नुभयो’ ईन्स्टिच्युटका संचालक योगेश बस्ताकोटीले भने, ‘मिराजले सिक्न चाहनेलाई तालिम र अन्य सहयोगसँगै केक, बेकरी, कफि लगायत कोदोको परिकार समेत बनाएर बिक्री गर्न थालेकोमा आजको कार्यक्रममा पाएको प्रतिक्रियाले थप उत्साही भएका छौं।’
गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट ३ लाखबढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको छ ।
हरेक वर्ष ५० अर्ब बढी रुपैयाँ धान चामलको आयातमा विदेशिने गरेकोमा यस वर्ष सुख्खाले थप २० प्रतिशत धान उत्पादन घढ्ने भएकाले सम्भावित खाद्यान्न संकट न्यूनीकरण गर्न कोदो उत्पादन अभियानमा सबै किसान जोडिनु आवश्यक देखिन्छ।




तस्वीरहरु: अनुपराज शाही/मिराज

