विद्यासँग झन् कठोर बन्दै ओली !

काठमाडौं । देशको प्रधानमन्त्री रहेका केपी शर्मा ओली नेकपा एमालेको अध्यक्ष समेत हुन् । पार्टी अध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो। पहिलो अध्यक्ष हुँदा माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेका ओलीले दोस्रो कार्यकालमा अध्यक्ष बन्न प्रतिस्पर्धा नै गर्नु परेन ।  यद्यपि तत्कालीन उपाध्यक्ष भिम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेर उनलाई चुनौती दिन खोजेपनि रावललाई उम्मेदवारी कायम राख्ने बहेक मत माग्न र खुला प्रतिस्पर्धा गर्न भने बन्चित गरियो।

नेकपा एमालेको हालको बिधानमा ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउन सक्ने प्रावधान छैन । यसमा २ कारण छन् । पहिलो उमेर हद : जहाँ ७० वर्षपछि नेतृत्वमा रहन नपाइने भनिएको छ। ओली ७४ बर्ष भैसके। दोस्रो चाहिँ दुई कार्यकाल ! एमाले बिधानमा लगातार दुई कार्यकाल मात्रै नेतृत्व गर्न पाइने भन्ने छ। तर,अहिलेमात्रै होइन भोलि पनि ओली नै अध्यक्ष हुनेगरी  एमालेले भदौको बिधान महाधिवेशनबाट यी दुबै कुरा हटाउने ग्यारेन्टी गरिसकेको छ। स्थायी कमिटी,पोलिट्ब्युरो र केन्द्रीय समितिले यो निर्णय नै गरिसक्यो। अब भदौ २०-२२ को बिधान महाधिवेशनले यसको छिनोफानो गर्ने भनिएको छ। यद्यपि यो पारित भए वा सो सरह हो !

केपी शर्मा ओलीका लागि अबको महाधिवेशनमा प्रतिस्पर्धा गरेर होइन सर्वमान्य र सर्वस्विकार्य भएर अध्यक्ष हुनुछ। त्यसका लागि कुनैपनी नेताले भिम रावल जस्तो उम्मेदवारी दिन नआओस् र नपाओस् भन्ने ओली चाहन्छन् । त्यसैले भावी अध्यक्षमा दावी गर्नसक्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र उपाध्यक्ष सुरेन्द्र पान्डेलाई उनले तर्साइ सकेका छन् । यी बाहेक अरुले ओलीका विरुद्ध उम्मेदवार बन्ने कुरा त के उम्मेदवारी दिन्छु सम्म भन्न सक्ने अवस्था छैन।

तर,पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीले एकबर्ष अघि नै एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किने कुरा गरेपछि ओली विद्याप्रती निकै क्रुद्ध बनेका छन् । विद्याले असार १४ गते आधिकारिक रुपमा एमालेमा फर्किएको घोषणा गरेपछि तनावमा रहेका ओलीले एक महिना भित्रै विद्याको सदस्यता नवीकरण नगर्ने, नवीकरण भएमा निष्क्रिय गर्ने,एमालेको बिधानमा ७० बर्षे उमेरहद र दुई कार्यकाल भन्ने कुरा हटाउने जस्ता निर्णय गर्न भ्याइसके। त्यति मात्रै होइन विद्यालाई एमालेको राजनीतिमा आउने ढोका बन्द भैसकेको र अझै प्रयास गरे जेसुकै कदम चालिने भनेर खुल्ला चुनौती समेत दिइसकेका छन् ।

अध्यक्ष ओलीले विद्यालाई रोक्ने मात्रै होइन,अब त उनको पक्षमा बोल्ने वा देखिनेलाई पनि नछाड्ने निति लिएका छन् । साउन ९ गते विद्याले पत्रकार सम्मेलन गर्दा सो कार्यक्रममा देखिने र ओलीका विरुद्ध फेसबुकमा स्टाटस लेख्ने समेतलाई निगरानीमा राखेर कारबाहीको डण्डा चलाउन थालिएको छ। युवा संघ र अखिलका केही नेता ओलीको निशानामा परिसकेका छन् भने केही पत्रकार,पार्टी निकट कर्मचारी र नेताकार्यकर्ता माथी पनि नजर राख्न थालिएको छ। यसैगरी पार्टीको प्रदेश कमिटी इन्चार्ज र अध्यक्षलाई कडा निर्देशन दिदै विद्या भण्डारीको पक्षमा खुलेका नेताकार्यकर्तालाई सुरुमा सम्झाउने, फकाउने र नमाने कारबाहीको डण्डा चलाउने समेत अधिकार दिइएको छ।

पार्टी बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल,उपाध्यक्ष सुरेन्द्र पान्डे र युवराज ज्ञवाली,नेता आनन्द पोख्रेल,कर्ण थापा,इन्द्रलाल सापकोटा लगायत युवा संघ र अनेरास्ववियुका अध्यक्षका प्रत्याशी सुमन पुरी र प्रकाश पौडेलको बारेमा बढी चनाखो हुन भनिएको छ। उनीहरुको भेटघाट र पार्टी कार्यक्रममा हुने उपस्थितिलाई समेत निगरानी गर्न अध्यक्ष ओलीको आदेश भएको एमालेकै नेताहरू बताउँछन् । भदौको बिधान महाधिवेशनमा विद्यालाई प्रतिनिधि बन्न नदिने लगभग पक्का भैसकेको छ भने विद्याको पक्षमा बोल्न सक्ने कसैलाई पनि सकेसम्म प्रतिनिधि बन्नै नदिने तयारी समेत गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय