तल्लो सोलु जलविद्युतको उत्पादन राष्ट्रिय प्रसारणमा जोडियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण सम्पन्न ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलुखोलामा निर्माण गरिएको उक्त आयोजना सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण कासेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो ।

पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना तयार गरिएको छ । सहायक प्रबन्धक चौधरीले भने, ‘४१÷४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ । दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ।’ परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ ।

सन् २०१६ मा सुरु गरिएको यस आयोजनालाई सुरुआतदेखि नै भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोधले प्रभावित पारेको थियो । निर्माण अन्तिम चरणमा पुगेका बेला पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । जसका कारण सबै संरचना पुनः निर्माण गर्नुपरेको चौधरीले बताए । यो फेरबदलले लागतमा केही वृद्धि गरे पनि दीर्घकालीन टिकाउपनामा फाइदा हुने अपेक्षा गरिएको छ ।

एफएमओसहित विभिन्न युरोपियन बैङ्कहरूको झण्डै १६ अर्ब लगानीमा निर्माण भएको यो आयोजना निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको उदाहरण बनेको छ । यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन र समयभन्दा अघि निर्माण सम्पन्न हुनु आफैँमा सकारात्मक उपलब्धि भएको जानकारहरूले बताएका छन् । निर्माण कम्पनीले आयोजना सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो, तर निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरेर विद्युत् उत्पादन थालिएको हो । आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ ।

उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ । यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजनाहरू समावेश छन् । हालसम्म नेपालमा निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो आयोजना ८६ मेगावाट क्षमताको सोलु दूधकोशी हो, जुन पहिले नै सञ्चालनमा आइसकेको छ । तल्लो सोलु आयोजना निजी क्षेत्रको दोस्रो ठूलो जलविद्युत् आयोजना हो ।

विद्युत् उत्पादनसँगै आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगारी, पूर्वाधार विकास, व्यावसायिक गतिविधि र आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान दिएको छ । सुरुङ खन्नेदेखि पेनस्टक जडान, टरबाइन जडानदेखि पावरहाउस सञ्चालनसम्मका कार्यहरूमा दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक रूपमा संलग्न भएका थिए । स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गरेका छन् । विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा उल्लेखनीय गति आउने अपेक्षा गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय