त्रिभुवन विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न मिल्ने

काठमाडौँ । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज पार्किङमा अब समस्या नहुने भएको छ। हाल ११ वटा मात्रै जहाज पार्किङ गर्न मिल्ने विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिबारे जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले उक्त कुरा बताएका हुन् ।अधिकारीका अनुसार इन्टरनेशनल पार्किङ एप्रोनमा यसअघि जम्मा ११ वटा मात्रै विमानहरू पार्किङ गर्न सकिन्थ्यो । जसले गर्दा यदि पार्किङमा ११ जहाज हुँदैमा अर्को जहाज ल्यान्ड गर्दा कुनै एउटा जहाज नउडे सम्म होल्डमा बस्नुपर्ने हुन्थ्यो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६/६ वटा राख्न सकिने उनले बताए । विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको कारण पार्किङको पनि क्षमता बढेको अधिकारीको भनाइ छ।
यसैगरी विमानस्थलमा अब टर्मिनलको समेत क्षमता वृद्धि गर्न जरुरी रहेको उनको भनाइ छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको छ।‘इन्टरनेशनल पार्किङ एप्रोन जुन छ, त्यसमा न्यारोबडी राख्नुभयो भने १८ वटा, वाइडबडी र न्यारोबडी गरेर राख्नुभयो भने ६ वटा वाइडबडी, ६ वटा न्यारोबडी राख्न सकिन्छ । अहिलेसम्म हामी न्यारोबडी र वाइडबडी गरेर ११ वटा मात्रै राख्न सक्छौँ । अब २९ वटा जहाज यहाँ पार्किङ गर्न सक्छौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको छ । पार्किङको पनि क्षमता बढेको छ । अब टर्मिनलको क्षमता वृद्धि गर्न जरुरी रहेको छ । एप्रोन, रनवे, प्यारालल ट्याक्सीवेको काम लगभग सम्पन्न भएको छ’-अधिकारीको भनाइ थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अद्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ । त्रिभुवन विमानस्थल बाहेक पोखरा र भैरहवामा समेत क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भएपनी जहाज पार्किङ काठमाडौंमा मात्रै हुँदै आएको छ।
हाल विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्याङ्गर लगायत निर्माण कार्य भैरहेको छ । यो निर्माण सकिएपछि विमानस्थलको रुप नै परिवर्तन हुने र हेर्दा पनि आकर्षक देखिने छ।

